Logo

दुई प्रदेशमा विहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

दुई प्रदेशमा विहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?



काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले दुई प्रदेशमा वर्षा भइरहेको जनाएको छ ।

मनसुनको प्रभाव रहेको कोशी प्रदेश र स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि वर्षा भइरहेको महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानहरुमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार राति कोशी, मधेश र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्