Logo

संखुवासभामा पहिरोले तीन घर बगायो, चट्याङ लागेर एक महिलाको मृत्यु

संखुवासभामा पहिरोले तीन घर बगायो, चट्याङ लागेर एक महिलाको मृत्यु



काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए । पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेको निमित्त प्रहरी प्रमुख लामिछानेले जानकारी दिए । उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले बताए । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । जिल्लामा बाढी पहिरोले के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ। यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पर्दछ । निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको सडक कार्यालयले जनाएको छ ।

चट्याङ लागेर संखुवासभामा एक जनाको मृत्यु

संखुवासभाको चिचिला गाउँपालिका–२ आहालेमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । गए राति हावाहुरीसँगै आएको वर्षाको क्रममा चट्याङ लाग्दा चिचिला गाउँपालिका– २ स्थित तल्लो आहालेमा ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

बुधबार राति करिब ११ बजे परेको चट्याङ लागेर ४३ वर्षीया गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि बिहीबार जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि तीन चार घण्टाको पैदल दूरीमा पर्दछ । त्यस्तैगरी, चिचिला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिराले ५ घर पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL