Logo

अर्थमन्त्री भन्छन्, जीवनस्तर माथि उकास्न आर्थिक पुनर्जागरण आवश्यक, देशमा चीन र भारतबाट ठूलो लगानी आउँदै

अर्थमन्त्री भन्छन्, जीवनस्तर माथि उकास्न आर्थिक पुनर्जागरण आवश्यक, देशमा चीन र भारतबाट ठूलो लगानी आउँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ पुस, काठमाडौं । जनताको जीवनस्तर माथि उकास्न र मुलुकको आर्थिक विकासका लागि आर्थिक पुनर्जागरण आवश्यक भएको अर्थमन्त्री डा रामशरण महतले बताए । ‘आगामी दिनमा विकास निर्माणका काममा कुनैपनि बाहनामा बन्द वा अवरोधका गतिविधिहरु हुनुहुँदैन,’ बिराटनगरमा आयोजित पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुकलाई बर्षौ पछि धकेल्ने यस्ता गतिविधिलाई पूर्णरुपमा बन्द गर्नुपर्छ ।’

विकासका एजेण्डा र आर्थिक एजेण्डालाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताउँदै संसारको मुख्य एजेण्डा नै आर्थिक भएको जानकारी दिए । ‘आर्थिक एजेण्डामा ध्यान नदिने हो भने हामी संसार भन्दा धेरैपछि पर्छौ,’ उनले भने, ‘गुणस्तरीय उत्पादनका लागि अहिले संसारको बजार प्राप्त गर्न सकिनुका साथै आर्थिक हिसावले हामी अहिले सिमानारहित संसारमा छौं ।’ गुणस्तरीय उत्पादनले संसारको बजार लिन जानकारी दिँदै यसका लागि  निजीक्षेत्रलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग उपलब्ध गराउन सरकार तयार भएको उनले जानकारी दिए ।

उनका अनुसार दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्रमा प्रवेश गरिसकेकोले नेपालमा लगानी गरेर यस क्षेत्रको ठूलो बजार प्राप्त गर्न सकिने छ । ‘मैले चीनका मन्त्रीहरुलाई नेपालमा लगानी गरेर दक्षिण एसियाको ठूलो बजार प्राप्त गर्न सकिने संभावनाबारे भनेको छु,’ उनले भने ‘त्यतिमात्र होइन, नेपालमा उत्पादित बस्तुले युरोप अमेरिका लगायतका देशहरुमा समेत भन्साररहित प्रवेश पाउँछन ।’ अहिले नेपालमा लगानी गर्न चीनका साथै भारतीय लगानीकर्ताहरु  समेत उत्साहित भएको उनको भनाइ थियो ।

finance minister_bizkhabar.com

सरकारले आर्थिक विकासलाई अगाडि बढाउनकै लागि दूरगामी महत्वका निर्णयहरु गरिरहेको जानकारी दिदै लगानीको वातावरण विथोल्ने प्रयास कही कतैबाट नहुने हो भने नेपालले आर्थिक विकासमा छिटै ठूलो फड्को मार्ने उनको दावी थियो । ‘नेपालको छिमेकीहरुसँगको व्यापारघाटा उच्च रुपमा बढ्दै गएको छ,’ उनले भने, ‘त्यसलाई न्यनिकरण गर्न जलविद्युतको  उत्पादन गरी निर्यात नगरुन्जेलसम्म भारत र चीनले समेत विशेष सुविधा दिनुपर्ने कुरा विषयमा समेत छलफल अघि बढेको छ ।’

हाल जलविद्युत्का साथै पर्यटन क्षेत्रमा पनि ठूलो लगानी आएको र होटल, विमान कम्पनीहरु समेत खुलिरहेका उनले बताए । ‘लगानी बोर्डले झण्डै ५० अर्ब रुपैयाँ बराबरको सिमेन्ट उद्योग खोल्ने रिलायन्सको प्रस्तावलाई हालै स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘आगामी दिनमा थप ठूला लगानी आउने तयारी भैरहेको छ ।’

हाल नेपालको भारतसँगको व्यापारघाटा धान्न नसकिने अवस्थामा पुगेको बताउँदै  नेपालबाट निर्यात बढाउनका लागि सरकारले केही प्रोत्साहन बढाउने तयारी गरिरहेको जानकारी दिए । सो कार्यका लागि निजीक्षेत्रका सुझाव छन भने पेश गर्न समेत आग्रह गरे । ‘निर्यातलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार जस्तोसुकै सुविधा दिन पनि तयार छ,’ उलने भने, ‘तर, सुविधा दिएपछि निर्यातमा बृद्धि भएर नेपालको व्यापारघाटा घट्नुपर्छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सरकारले पुँजी खर्च बढाउनुपर्ने बताए । साथै, आर्थिक विकासका लागि सरकारी काममा हुने गरेको ढिलासुस्ती हटाउनुपर्ने सुझाव उनको सुझाव थियो । महासंघका उपाध्यक्ष किशोर प्रधानले पूर्वाञ्चलको विकासको लागि कोशी किमाथांका सडक शीघ्र बन्नुपर्ने जानकारी दिए ।

यसैगरी, पूर्वाञ्चल उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष टंक दुलालले करसम्वन्धी मुद्दाहरुको छिनाफानो गर्न कर फछा्र्योट आयोग गठन गरिनुपर्ने बताए । कार्यक्रममा संघका पूर्व कार्यबाहक अध्यक्ष राजेन्द्र राउत, इटहरि उद्योग वाणिज्य संघका अध्यक्ष रोहित शर्मा, मोरङ्ग व्यापार संघका अध्यक्ष पवन शारडा लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL