Logo

बचतसँगै व्यवसायमा जोडिँदै महिला, सम्पत्ति जोड्न वित्तीय लक्ष्य हुनुपर्नेमा सचेत

बचतसँगै व्यवसायमा जोडिँदै महिला, सम्पत्ति जोड्न वित्तीय लक्ष्य हुनुपर्नेमा सचेत



काठमाडौँ । कैलालीको टीकापुर नगरपालिका– ७ की विपना गुरुङ पुनमगरका श्रीमान वैदेशिक रोजगारीमा थिए । श्रीमानले विदेशमा कमाउने तथा सपनाले घर व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरह्यो । सपनालाई बचत गर्नुपर्छ, आफूले पनि केही काम गर्नुपर्छ भन्ने कहिल्यै लागेन । श्रीमानले कमाउने, सपनाले खर्च गर्ने चलिरह्यो ।

केही महिनाअघि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले चलाएको वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि विपनाको दैनिकी भने फेरियो । उनले श्रीमानको कमाइ बचत गर्न थालिन् । तरकारी खेती र बाख्रापालन थालिन् । उनले कमाइको केही अंश बचेत समेत थालेकी छन् । ‘साक्षरता कक्षाबाट धेरै सिकाइ भयो, बचत गर्ने, फजुल खर्च नगर्ने तथा परिवारमा मेलमिलाप कसरी गर्ने भन्नेबारे ज्ञान पाए’, विपना भन्छिन्, ‘हरेक खर्च र आम्दानीको हिसाब राख्न थाले । दैनिक हिसाबकिताब लेखेर राख्दा घरमा मेलमिलाप र शान्ति भयो ।’

विपनाका श्रीमान् अहिले विदेशबाट घर फर्किएकी छन् । विगतमा सीप नसिकेर रोजगारीमा गएका श्रीमानलाई सीप सिकेर विदेश पठाउने तयारीमा उनी छिन् । ‘सीप सिकेर, सम्बन्धित काममा जाने सल्लाह भएको छ’, विपनाले भनिन्, ‘अहिले मैले पनि तरकारी खेती, कपडा सिलाउने काम र बाख्रापालन थालेकी छु । अब घरखर्चका लागि तनाव छैन ।’

टीकापुर–७ बैदीकै जमुना साउद पनि साक्षरता कक्षामा सहभागी भएपछि पैसाको महत्व बुझेको बताउँछिन् । घरमा मेलमिलापका लागि बचत गर्नुपर्ने रहेछ भन्ने सिकाइ भएको उनको बुझाइ छ । ‘महिलाले वित्तीय हिसाबकिताब राख्न र फजुल खर्च घटाएपछि घरमा पनि शान्ति हुन्छ’, उनी भन्छिन्, ‘हरेक दिन बेलुका दिनभरिका काम र खर्चबारे छलफल हुने गरेको छ । अहिले मैले पनि बाख्रापालन व्यवसाय पनि सुरु गरेकी छु ।’

टीकापुर–४ की सविता चौधरी पनि हिसाबकिताब राख्न र श्रीमानको विदेशको कमाइ कसरी बचत गर्ने भन्नेबारेमा सिकाइ भएको बताउँछिन् । ‘जति रकम पठाए पनि हिसाब राख्ने गरेकी थिइन, कुन महिना कति खर्च भयो थाहै हुँदैन थियो’, उनले भनिन्, ‘अहिले सबै हिसाब राख्दा सहज भएको छ । मैले तरकारी खेती पनि गरिरहेकी छु ।’

वैदेशिक रोजगारीमा गएका व्यक्तिको विदेशमा कति वर्ष बसाइ हुन्छ ? कति कमाइ हुन्छ ? विदेशमा केही वर्ष कमाएको रकम बचत गरेर, सदुपयोग गरेर सम्पत्ति थपेमा भविष्यमा आइपर्ने समस्या समाधान गर्न सकिनेमा महिलाहरु सचेत बन्न थालेका छन् । अझ विदेशको कमाइलाई सदुपयोग गरी वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यसमेत कामकाजी भएमा घरखर्च यही कमाइ गरी चलाउन सकिन्छ र केही बचतसमेत गर्न सकिन्छ भनी महिला व्यवसायसँग जोडिन खोज्दैछन् ।

साक्षरता कक्षामा सहभागी महिलाले विदेश जाँदा चाहिने कागजातबारे ज्ञान भएको, श्रम स्वीकृति र कानुनी प्रावधानबारे सिकाइ भएको बताएका छन् । यसका साथै परिवार व्यवस्थापन, कामको बाँडफाँट, आम्दानी र खर्चबारे सिकाइ भएको उनीहरु बताउँछन् । टीकापुरकी मीनाकुमारी विष्ट बालबालिकाको शिक्षा आर्जन र परिवारको आम्दानी बढाउन, सम्पत्ति जोड्न वित्तीय लक्ष्य हुनुपर्नेमा सचेत बनेको बताउँछिन् ।

‘हरेक परिवारको वित्तीय लक्ष्य हुनुपर्छ । हाम्रो समाजमा घरका एक पुरुष विदेशमा कमाउने, अरु सबै बसेर खाने चलन छ’, उनले भनिन्, ‘त्यसो गर्न हुँदैन । घरका सबैले आर्थिक आयआर्जन हुने काम गर्नुपर्छ ।’ सामी कार्यक्रमले कैलालीको टीकापुर, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा काम गरिरहेको छ । आप्रवासन परियोजना नेपालमा सन् २०११ देखि सञ्चालनमा छ ।

कार्यक्रमले वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार, वैदेशिक रोजगारबाट फर्केका कामदार र वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यलाई सेवा दिने गरी काम गर्दै आएको छ । कार्यक्रमले सूचनामा पहुँच, सीपमा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श दिने काम गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL