Logo

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता, यस्ता छन् मन्त्रिपरिषदका निर्णय



काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिकालगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको बताइन् । यी देशमा कांग्रेस–माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए ।

सरकारले फिर्ता बोलाएका राजदूतहरूमा भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्मा, अमेरिकाका लागि नेपाली राजदूत प्रा। श्रीधर खत्री, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल, साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी छन् ।

त्यस्तै, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्राडा ज्योति प्याकुरेल (भण्डारी), मलेसियाका लागि नेपाली राजदूत दिल्लीराज पौडेल, स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, पोर्चुगलका लागि नेपाली राजदूत शनिल नेपाल, डेनमार्कका लागि नेपाली राजदूत रामस्वार्थ राय र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल रहेका छन् ।

२०८१ जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु

१. सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागिता जनाउनुहुने ।

२. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।

३. हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा श्री नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।

४. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा श्री पदम ओलीलाई नियुक्त गर्ने ।

५. मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने ।

६. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री तेजबहादुर राईलाई तोक्ने ।

७. जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने ।

८. जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने ।

९. ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

१०. भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी एघार जना राजदूतलाई फिर्ता बोलाउने ।

प्रतिक्रिया दिनुहोस्
MBL