Logo

सुन आयातमा अर्थमन्त्री पुनको ‘अस्वभाविक’ चलखेल, १ किलोमै तस्करलाई २४ लाख फाइदा

सुन आयातमा अर्थमन्त्री पुनको ‘अस्वभाविक’ चलखेल, १ किलोमै तस्करलाई २४ लाख फाइदा



काठमाडौं । सुन तस्करीसँगको सम्बधका कारण पटक–पटक विवादमा आएका अर्थमन्त्री वर्षमान पुनले सुन तस्करीलाई नै फाइदा पुग्ने गरी आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट ल्याएका छन् । पछिल्लो समय देशमा सुन तस्करी मौलाउँदै गएको अवस्थामा उनले सुन तस्करलाई बढी फाइदा हुने गरी आर्थिक विधेयक ल्याएपछि थप आलोचित बन्न पुगेका छन् ।

अर्थमन्त्री पुन सुन तस्करका नाइके जीवन गुरुङ र भीमकान्त भण्डारीसँग जोडिएका व्यक्ति हुन् । केही समयअघि भन्सार विभागले गरेको सुन तस्करीसम्बन्धी अध्ययनमा फोन रेकर्डको आधारमा जीवन गुरुङसँगै अर्थमन्त्री पुन पनि मुछिएका थिए भने अकुत सम्पति आर्जन र सुन तस्करको आरोप खेपिरहेका भण्डारी अहिले पुनको सबैभन्दा विश्वासिला पात्र हुन् । तत्कालीन समयमा सुन तस्करलाई जोगाउन उनै अर्थमन्त्री पुनको दबाबमा भन्सार विभागको अनुसन्धानलाई समेत प्रभावित बनाइएको समाचारहरु बाहिर आएका थिए ।

अर्थमन्त्री पुनको विश्वासिला पात्र भण्डारी प्रहरीको सूचीमा फरार रहेपनि अहिले अर्थ मन्त्रालयदेखि मन्त्री क्वाटरसम्म खुलेआम भेटघाटमा हिडिरहेका छन् । हाल उनै भण्डारीको पहलमा अर्थमन्त्रीले सुन तस्करलाई फाइदा पुग्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याएको समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सोहीअनुरुप पुनले तस्करलाई फाइदा पुग्नेगरी सुनमा भन्सार महसुल वृद्धि गरेका छन् । यसअघि सुन आयातमा १५ प्रतिशत रहेको सुनको महसुल बढाएर २० प्रतिशत पुर्याएको छ ।

अर्थमन्त्री पुन सुन तस्करीको घेराबन्दीमा रहेको र उनीहरुकै सल्लाहअनुसार तस्करलाई फाइदा पुग्नेगरी बैधानिक बाटोबाट सुन ल्याउँदा भन्सार महशुल बढाएको उनीमाथि आरोप छ । प्रहरीको सूचीमा फरार रहेपनि भण्डारीले अर्थमन्त्री पुन र उनका पीए सन्तोष पुनलाई हरेक दिनजस्तो भेटघाट गर्दै आएका छन् ।

यसैगरी सुनको भन्सरा महसुल बढ्दा तस्करीलाई बढी फाइदा पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । ‘भन्सार मूल्य बढी भएकै कारण अहिले पनि बजारमा तस्करीबाट आयात भएको सुन बढी प्रयोग भैरहेको छ,’ उनले भने, ‘सोहीअनुरुप हामीले तस्करीलाई निरुत्साहित गरी बैधानिक कारोबारलाई प्राथमिकता दिन सुनमा भन्सार मूल्य घटाउन सुझाव दिएका थियौं तर, अर्थमन्त्रीले तस्करीलाई नै फाइदा पुग्नेगरी झन भन्सार बढाइदिनुभयो ।’

अहिलेको अवस्थामा तस्करले १ किलोग्राम सुन भित्र्याउँदा उसलाई २४ लाख रुपैयाँ फाइदा हुन्छ भने प्रति तोला नै २८ हजार ४ सय रुपैयाँ फरक पर्न आउँछ । बजेटको व्यवस्थाले बैधानिक बाटोबाट सुन आयात गर्नेलाई भन्दा तस्करी गर्नेलाई थप प्रोत्साहन मिलेको शाक्यको तर्क छ ।

केही समयअघि महालेखा परीक्षकले १३ प्रतिशतमात्रै बैंकबाट खरिद गरिएको सुन कारोबार भएको तथ्यांक सार्वजनिक गरेको थियो । गहना बजारको हब न्यूरोडमा गरिएको अध्ययनमा त्यहाँका पसलहरुले बाँकी सबै सुन तस्करबाट खरीद गर्ने गरेको भेटिएको थियो । अर्थमन्त्री पुनले सुन आयातमा भन्सार बढाएसँगै अबका दिनमा अझै तस्करलाई प्रोत्साहन मिल्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

यस्तै अर्थमन्त्री पुनले भारतबाट गहना ल्याउँदा साढे ९ प्रतिशतमात्रै भन्सार लाग्ने व्यवस्था गरिदिएका छन् । कच्चापदार्थ अर्थात सुन ल्याएर नेपाली कालिगडले गरगहना बनाउँदा २० प्रतिशत भन्सार लाग्ने तर, भारतबाट तयारी गहना आयात गर्दा साढे ९ प्रतिशत मात्रै भन्सार लाग्ने भएकाले अबका दिनमा सरकारले राजस्व गुमाउनुका साथै नेपाली कला र उद्यमशीतासमेत मर्ने शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL