काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले भारतीय लगानी बढाउन आग्रह गरेका छन् । बुधवार मन्त्री जोशीले नेपालका लागी भारतिय राजदुत रंजीत रायसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।
नेपालमा औद्योगिक विकासको अत्यन्त ठुलो सम्भावना रहेको भन्दै मन्त्री जोशीले औद्योगिक वातावरण निर्माणका लागी उद्योग मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।
हाल उद्योग मन्त्रालय नीतिगत सुधारको प्रकृयामा रहेको भन्दै मन्त्री जोशीले यसका लागि छिट्टै संसदबाट औद्योगिक व्यवसाय सम्वन्धी कानूनलाई संशोधन र एकिकरण गरी बनेको विधेयक २०७१ पास गर्न लागिएको बताए । सो विधेयकले मुलुक भित्र श्रम मैत्री औद्योगिक वातावरणको निर्माण गर्ने बताइएको छ ।
उद्योग स्थापनाका लागि लाग्ने प्रकृयागत झण्झटहरुलाई समेत सरलिकृत गरी छिटो भन्दा छिटो सेवा दिने दिशामा उद्योग मन्त्रालयका सेवाहरुलाई सुधार गरिएको मन्त्री नोशीले जानकारी दिए ।
भेटमा नेपालका लागि भारतिय राजदुत रंजीत रायले लगानी प्रकृयामा देखिएका प्रकृयागत झण्झटहरुलाई समाधान गर्न सुझाव दिए । भारतमा रहेका लघु, घरेलु तथा साना उद्योगको अनुभवले नेपालका लघु, घरेलु तथा साना उद्योगको विकासका लागी फलदायी हुन सक्ने भएकाले ती संस्थाहरुबीच अनुभव आदन प्रदानका लागि काम गर्न सकिने बताए । नेपालको विकास प्रयासमा सहयोग गर्न भारत सँधै तत्पर रहेको रायले बताए ।