Logo

प्रधानमन्त्री प्रचण्डलाई पोखरामा सहकारी पीडितले देखाए कालोझण्डा, ११ जना पक्राउ

प्रधानमन्त्री प्रचण्डलाई पोखरामा सहकारी पीडितले देखाए कालोझण्डा, ११ जना पक्राउ



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले कालोझण्डा देखाएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न गएका प्रधानमन्त्री प्रचण्ड पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दिन माग गरेका थिए । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा आएका थिए । आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै गर्दा सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रहरीले लात्ती प्रहार गरेर ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठलाई घाइते बनाएको बताए । सहकारीका पीडितले न्याय माग्दा धरपकड भएको भन्दै उनले राज्य कसको पक्षमा छ भन्ने पुष्टि भएको बताए । ‘म काठमाडौं छु, प्रधानमन्त्रीलाई न्यायका लागि सभागृह पुगेर ध्यानाकर्षण गराउने कार्यक्रम थियो,’ श्रेष्ठले भने, ‘तर, न्याय माग्न पुगेका पीडितलाई प्रहरीले दमन गरेको छ ।’ ‘हामीबाट राज्यलाई डर हो कि राज्य अभियुक्तको पक्षमा प्रस्तुत भएको हो ?’ उनले भने, ‘अब हामी पक्राउ परेका पीडितका पक्षमा जहाँ लगिएको छ, त्यहीँ पुग्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL