Logo

बालेनलाई संसदबाट एमालेको चेतावनी, एमालेले अहिलेसम्म भ्रष्टाचार नगरेको योगेशको दाबी

बालेनलाई संसदबाट एमालेको चेतावनी, एमालेले अहिलेसम्म भ्रष्टाचार नगरेको योगेशको दाबी



काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नर्बिसन चेतावनी दिएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै हरेक व्यक्तिको सीमा र अधिकार तोकिएको बताए ।

उनले भने, ‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ । काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो । अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ । सरकारले दिन्छ । प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला । काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस् । तर, उत्तेजना फैलाएर हुँदैन । तपाईंमार्फत् लाखौं युवाहरूले भविष्य खोजेका हुन् । तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ ।’ उनले नेताहरू जेल बसेको कुरालाई मजाकमा उडाएको भन्दै असन्तुष्टि पोखे ।

यस्तै सांसदश भट्टराईले झापाको गिरीबन्धु जग्गा प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् । थापाले गएको आइतबारको प्रतिनिधिसभा बैठकमा बोलेको विषयतर्फ लक्षित गर्दै भट्टराईले पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले प्रचार र आरोप लगाउने षड्यन्त्र भएको बताए ।

उनले ०४६ पछिको कुन काण्ड छानबिन गर्ने भन्दै कांग्रेसलाई प्रश्न गरे । ‘४६ सालपछि वा अगाडि कुन–कुन बेलाको छानबिन गर्नुपर्ने हो, प्रत्येक छानबिनको लागि एमाले तयार छ । एनसेलको गर्ने हो कि टेरामक्सको गर्ने हो कि ? बाँसबारीको गर्ने हो कि कोहलपुर जग्गाको गर्ने हो कि ? बालमन्दिरको गर्ने हो कि बालुवाटार जग्गाको कहाँ–कहाँ गर्ने ? सबैको छानबिनमा उभिन तयार छ एमाले’, भट्टराईले भने, ‘नेकपा (एमाले) त्यो पार्टी हो, भ्रष्टाचारीको आरोपमा अदालत र अख्तियारमा जानुपरेको छैन । पार्टीको केन्द्रीय समितिमा दायाँ–बायाँ दाग लागेको व्यक्ति राखेर बैठक गर्नुपरेको छैन ।’

उनले आफूहरू मार्क्सवादी भएको भन्दै नेपालमा बुद्धवादी दावी गरे । ‘हामी मार्क्सवादी हौँ, नेपालमा बुद्धवादी हौं । हामी कसैमाथि हात उठाउन चाहँदैनौं, गलत ढंगले टिप्पणी गर्दैनौं’, उनले भने, ‘जिउँदै मानिसलाई इँटाभट्टामा पोल्ने काम २०० वर्षपछि पनि गर्दैनौं । हामी कुनै पनि अपराधमा चारतारे झण्डा ओढोस्, हँसियाहतौडाको झण्डा बोकोस्, घण्टी बजाओस्, हलो बोकोस्, त्यो कसैलाई पनि छुट छैन ।’

उनले सबै विषयमा छानबिन गर्न पनि चुनौती दिए । ‘प्रत्येक छानिबनका लागि आउँछौँ, यी तमाम विषयमा कांग्रेसकै साथीहरू बसेर छानबिन गरौं’, भट्टराईले भने, ‘तपाईंहरू बसेर रिपोर्ट लिएर आउनुहोस् संसद्मा । सबैको सामना गर्न एमाले तयार छ ।’ गिरीबन्धु टी–इस्टेटको करिब ३४४ बिघा जग्गा सट्टापट्टा तथा बिक्रीको बाटो खुलाउने गरी मन्त्रिपरिषद्बाट निर्णय हुँदा ओली प्रधानमन्त्री थिए । उक्त निर्णयअघि नै जग्गा बैनाको विषय सार्वजनिक भएपछि ओलीमाथि भ्रष्टाचारको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL