काठमाडांै. । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले एकीकृत कारोबार सुरु गरेका छन् । यसअघि नै नियामक नेपाल राष्ट्र बैंकले विद्यमान भुक्तानी तथा फर्स्यौट विनियमावली बमोजिम एकीकृत कार्य प्रारम्भ गर्न अन्तिम स्वीकृति दिइसकेको थियो ।
भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएका यी दुई बम्पनीले सोमबारदेखि नेपाल क्लियरिङ हाउस लिमिटेडकै नामबाट एकीकृत कारोबार गरेका हुन् । एनसीएचएलले नेप्सलाई प्राप्ती गरेर एकीकृत कारोबार गरेको हो । सोमबार साँझ एक औपचारिक कार्यक्रम गरेर एकीकृत कारोबारको घोषणा गरिएको हो । यद्यपि, सोमबार बिहानबाटै एकीकृत कारोबार सुरु भएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान प्रधानले बताए ।
यसले विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालको परिकल्पनालाई पूरा गर्न उक्त क्षेत्रलाई आधुनिकीकरण तथा अन्तरआबद्धता कायम गर्न र यससम्बन्धी दूरगामी परियोजनाहरूको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्विच लगायतका थप पूर्वाधारहरू विस्तार गर्न सहयोग हुने अपेक्षा गरिएको छ।
नेप्सको १०० कित्ता सेयर बराबर एनसीएचएलको २८ कित्ता सेयर कायम हुने गरी १: ०.२८ को सेयर आदानप्रदान अनुपातमा एकीकृत कारोबार सुरु भएको हो । दुई कम्पनीको गत चैत २२ गते सम्पन्न भएको अन्तिम सम्झौता र वैशाख १३ गते दुवै संस्थाको विशेष साधारण सभाबाट प्रस्ताव पारित भएसँगै एकीकृत कारोबारको मिति तय भएको थियो। उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत जेठ २ गते र कम्पनीको रजिष्ट्रारको कार्यालयले जेठ १३ गते स्वीकृती दिएको थियो। सरकार र निजी क्षेत्रका यी दुवै भुक्तानी प्रणाली सञ्चालक संस्थाबीच गत पुसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । त्यसपछि गत चैत २३ गते यस सम्बन्धमा अन्तिम सम्झौता भएको थियो ।
नेपालमा भुक्तानी प्रणाली सञ्चालक कम्पनीहरु मर्ज भएको यो पहिलो हो । त्यसमा पनि निजी र सरकारी स्वामित्वको कम्पनी मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । एनसीएचएल नेपाल राष्ट्र बैंकसमेतको स्वामित्वमा स्थापना भएको संस्था हो । नेप्स भने निजी क्षेत्रका केही वाणिज्य बैंकहरुले स्थापना गरेको संस्था हो ।
एनसीएचएलले बिशेषगरी विद्युतीय भुक्तानी प्रणालीका लागि आवश्यक पूर्वाधार (सफ्टवेयर लगायत) सञ्चालन गर्दै आएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरु सोही पूर्वाधार आवद्ध भएर आफ्नो डिजिटल भुक्तानीको उपकरण सञ्चालन गर्दै आएका छन् । एनसीएचएल आफैले पनि कनेक्ट आईपीएस नामक डिजिटल भुक्तानीको उपकरण सञ्चालन गर्दै आएको छ । यता नेप्सले भने बिभिन्न बैंकको एटीएम कार्ड कारोबारका लागि स्वीच पूर्वाधार सञ्चालन गर्दै आएको थियो । यी दुवै संस्था मर्ज हुँदा डिजिटल भुक्तानी प्रणालीको सञ्चालन र विकासमा नयाँ आयम आउने अपेक्षा गरिएको छ ।