Logo

बजेटमा एमालेको असन्तुष्टि, पौडेलले भने-सुझाव लिएको भए बजेट अझै राम्रो आउँथ्यो

बजेटमा एमालेको असन्तुष्टि, पौडेलले भने-सुझाव लिएको भए बजेट अझै राम्रो आउँथ्यो



काठमाडौं । बजेट निर्माणमा अर्थमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल नगरेको विषयमा एमालेको संसदमा असन्तुष्टि पोखेको छ । आइतबार बजेटमाथिको छलफलमा सहभागी हुँदै एमाले सांसद विष्णु पौडेलले बजेट बनाउँदा प्रमुख दलका शीर्ष नेताहरूसँग सुझाव लिन आग्रह गरे ।

‘अत्यन्त्यै व्यस्तताबीच बजेट निर्माण गर्नुपर्छ । असीमित समय हुँदैन, निश्चित समयभित्र यो काम गर्नुपर्छ । मन्त्री ज्यू यस्तो व्यस्त हुनुभयो कि सरकारमा सहभागी भएका राजनीतिक दलहरू, प्रमुख दलका नेताहरूसँग पनि बजेट निर्माणका निम्ति सरसल्लाह गर्न, सुझाव लिन भ्याउनु भएन । भ्याउनु भएको थियो भने बजेट अझै राम्रो हुने थियो,’ उनले भने ।

बजेट तुलनात्मक रूपमा सन्तुलित रहेको उल्लेख गर्दै उनले घुमाउरो भाषामा बजेटका लक्ष्य पूरा गर्न सहज नरहेको टिप्पणी गरेका छन् । पौडेलले भने, ‘खासगरी बजेटको स्रोतका सन्दर्भमा उहाँले जुन खालका प्रस्ताव गर्नु भएको छ, त्यो हेर्दा उहाँले चुनौती सिर्जना गर्ने र सामना गर्ने अठोट गरेको म पाउँछु ।’

वैदेशिक सहायता, वैदेशिक ऋण, आन्तरिक ऋण, आर्थिक वृद्धिलगायतका लक्ष्य पूरा गर्न सहज नभएको टिप्पणी गर्दै उनले असम्भव भने नरहेको बता ए। चालू आवको जेठ १६ गतेसम्म एक खर्ब २६ अर्ब मात्रै पुँजीगत खर्च रहेको उल्लेख गर्दै पौडेलले आगामी आवका लागि तीन खर्ब पुँजीगत खर्च गर्ने लक्ष्य सहज नभएको बताए ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको विषयमा पनि पौडेलले फरक मत राखे । ‘आर्थिक सुधारको कार्यक्रमका सन्दर्भमा सिफारिस गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने प्रस्ताव छ । यसमा मेरो सुझाव के छ भने– सामान्यतया पोलिसी विशेषज्ञहरूको कार्यदलले सेट गर्नेभन्दा पनि राजनीतिक नेतृत्वले हो । राजनीतिक नेतृत्वले गर्ने काम कार्यदललाई जिम्मा दिँदा त्यति उचित नहोला ।’

प्रतिक्रिया दिनुहोस्
MBL