Logo

सरकारले गर्यो तीन सचिवको सरुवा, तीन सहसचिव सचिवमा बढुवा

सरकारले गर्यो तीन सचिवको सरुवा, तीन सहसचिव सचिवमा बढुवा



काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ ।

त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा गरेको एक मन्त्रीले जानकारी दिए । वित्त आयोगका सचिव सिंहको डेढ महिनाअघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आयोगका सरुवा भएको थियो ।

उनको डेढ महिनाकै अवधिमा तीन निकायमा सरुवा भइसकेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बुर्लाकोटीको पनि दुई महिना नपुग्दै सरुवा भएको छ । महालेखा नियन्त्रक मैनालीको भने करिव २० महिनापछि सरुवा भएको हो ।

न्याय सेवा आयोगले बढुवाका लागि सिफारिस गरेका न्याय सेवाका तीन सहसचिव सचिवमा बढुवा भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गत शुक्रबार आयोगले बढुवाका लागि सिफारिस गरेका तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।

जसमा नेपाल न्याय सेवातर्फका सह न्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ता, सहसचिव यमबहादुर बुढा मगर न्याय परिषद्को सचिव र सहरजिष्ट्रार भद्रकाली पोखरेललाई सर्वोच्च अदालतमा रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकले वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने र तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृत दिने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन ।

प्रतिक्रिया दिनुहोस्
MBL