Logo

रिडी–तम्घास सडक आजदेखि एक महिनाका लागि बन्द, वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध

रिडी–तम्घास सडक आजदेखि एक महिनाका लागि बन्द, वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध



काठमाडौं । रिडी–तम्घास सडक खण्ड आज (शुक्रबार) देखि एक महिनाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै आजदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

यस समय अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ ।

गत चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ भने सडकको केही ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका काम बाँकी छ । सवारी साधनको चाप बढेसँगै पुरानो बाटो साँघुरो भएकाले रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडकखण्ड विस्तार गरिँदै छ ।

सोही योजना अन्तर्गत पहिलो चरणमा रिडीदेखि राजासम्म २५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रे हुन लागेको हो । २०७९ साल फागुन २८ गते सम्झौता भएको सडक विस्तारको काम २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद छ । एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक बिस्तारको ठेक्का सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL