Logo

तीन अर्ब जरिवानाको चक्करमा फस्यो एनसेल, भदौ १६ सम्म २३ अर्ब बुझाउनुपर्ने

तीन अर्ब जरिवानाको चक्करमा फस्यो एनसेल, भदौ १६ सम्म २३ अर्ब बुझाउनुपर्ने



काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेल ३ अर्ब जरिवानाको चक्करमा फसेको छ । नेपाल दूरसंचार प्राधिकरणलाई जेठ १६ सम्म बुझाउनुपर्ने कुल २० अर्ब रुपैयाँ नबुझाउँदा कम्पनी सो जरिवाना बुझाउनुपर्ने अवस्थामा पुगेको हो । कम्पनीले टेलिफोन सेवा प्रदान गर्नका लागि पाएको लाइसेन्सको तेस्रोपटकका लागि यही जेठ १६ सम्म २० अर्ब रुपैयाँ तिरेर नवीकरण गराउनुपर्ने थियो ।

तर, बुधबारसम्म पनि तिर्नुपर्ने रकममध्ये २० प्रतिशत मात्रै रकम तिरेपछि अब ३ अर्ब रुपैयाँ थप जरिवानासहित कुल २३ अर्ब रुपैयाँ बुझाउनुपर्ने भएको हो । कम्पनीले पाएको दूरसंचार सेवाप्रदायकको अनुमतिपत्रको अवधि आगामी भदौ १६ गतेसम्म छ । तर, दूरसंचार ऐन र नियमावलीमा तोकिएबमोजिम कम्पनीले लाइसेन्सको अवधि नसकिँदै ३ महिनाअगावै २० अर्ब रुपैयाँ तिरेर नवीकरण गराउन सकिने व्यवस्था छ ।

एनसेलले विस २०६१ भदौमा जिएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पाएको थियो । दूरसंचार ऐनमा तोकिएको व्यवस्थाबमोजिम कम्पनीले २०७१ सालमा पहिलोपटक १० बर्षमा, २०७६ सालमा दोस्रोपटक ५ बर्षमा र २०८१ सालको भदौ १५ सम्म तेस्रोपटक ५ बर्षका लागि उक्त लाइसेन्स नवीकरण गराउनुपर्छ ।

यसअघि प्रत्येकपटक २० अर्ब रुपैयाँ तिर्दै लाइसेन्स नवीकरण गराइसकेको एनसेलले यसपटक भने ३ महिनाअगावै जम्मा ४ अर्ब रुपैयाँ मात्रै भुक्तानी गरेपछि अब अगामी भदौ १६ सम्म थप ३ अर्ब तिरेर लाइसेन्स नवीकरण गराउन सक्ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । ‘कानुनतः कम्पनीले हिजो बुधबारसम्म् कुल २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नवीकरण गराउन सक्थ्यो,’ उनले भने, ‘तर यस अवधिमा जम्मा ४ अर्ब रुपैयाँ मात्रै बुझाएपछि अब थप ३ अर्ब र बुझाउन बाँकी १६ अर्ब रुपैयाँ बुझाएपछिमात्रै लाइसेन्स नवीकरण हुन्छ ।’

कम्पनीले नेपाल टेलिकमलाई दिएकोजस्तो किस्ताको सुविधा माग गरेपनि प्राधिकरणले उक्त सुविधा नदिएको हो । यसअघि गत फागुन २६ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार प्राधिकरणलाई सरकारले एनसेललाई तेस्रो पटकको नवीकरण गर्ने बेलामा कम्पनीको सम्पत्ति, जायजेथा र स्वामित्व नै आगामी ५ बर्षमा सरकारमा आउने गरी मात्रै नवीकरण गर्न निर्देशन दिएको छ । अर्थात कम्पनीले मन्त्रिपरिषदले तोकेका शर्तहरु मानेमामात्रै उक्त लाइसेन्स नवीकरण हुनेछ । यसअघि प्राधिकरणले एनसेललाई जेठ ४ गते एक पत्र लेख्दै तोकिएको रकम तिरेर र शर्तहरुको पालना गर्दै आगामी ५ बर्षका लागि लाइसेन्स नवीकरण गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्