Logo

दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा चौंथो सरकार, मुख्यमन्त्रीमा पाण्डे नियुक्त

दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा चौंथो सरकार, मुख्यमन्त्रीमा पाण्डे नियुक्त



काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई आज (बुधबार) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

सर्वोच्च अदालतले एमालेका खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौंथो सरकार बन्न लागेको हो । कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । पाण्डे मुख्यमन्त्री बने पनि गण्डकी सरकार स्थिर बन्ने अवस्था देखिंदैन । गण्डकीमा कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो दल हो । गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । उनलाई ३१ सांसदको समर्थन जुटाउन हम्मेहम्मे पर्ने अनुमान गरिएको छ ।

स्वतन्त्र सांसद राजीव गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदले समर्थन गरे पनि पाण्डेको पक्षमा ३० मत मात्र जुट्छ । पाण्डेले ३० दिनभित्र अर्थात् आगामी असार १३ भित्रै विश्वासको मत लिनै पर्छ ।

त्यसअघि नयाँ बन्ने सरकारलाई आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम ल्याउनैपर्ने बाध्यता छ । पाण्डे सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित हुने अवस्था छैन । गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL