Logo

बजेटमा घोषणा गरिएको ‘पडवे सेवा’ के हो ? काठमाडौंमा सार्वजनिक यातायातको विकल्प बन्ला ?

बजेटमा घोषणा गरिएको ‘पडवे सेवा’ के हो ? काठमाडौंमा सार्वजनिक यातायातको विकल्प बन्ला ?



काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट वक्तव्यमा काठमाडौंसँगै अन्य केही स्थानमा सार्वजनिक यातायातको रुपमा पडवे सेवा सुरुवात गर्ने घोषणा गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले प्रस्तुत गरेको बजेटको बुँदा २ सय २५ र २ सय ४५ मा यसको व्याख्या गरिएको छ ।

जसअनुसार पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार–मनकामना–बेनीघाटसम्म पडवे यातायात प्रणालीको संभाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइने कुरा उल्लेख गरिएको छ । यस्तै बजेट वक्तव्यमा काठमाडौंभित्रै अर्थात स्थानीय तहसँगको सहकार्यमा काठमाडौं उपत्यकाको धोबिखोला, बागमती र बिष्णुमती कोरिडोरमा स्काई–वे तथा पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने कुरा उल्लेख गरिएको छ । दुबई, बेलायतलगायत युरोपेली मुलुकहरु स्वीडेन, डेनमार्क, नेदरल्याण्ड, सिंगापुरलगायतका विकसित देशहरुमा सफल परीक्षण भई संचालमा आइसकेको यो प्रणाली नेपालमा पनि भित्र्याउने गरी सरकारले पहिलोपल्ट बजेटमार्फत नै निर्णय गरेको हो । खासगरी उच्च जनघनत्व भएका ठुला सहहरुमा सार्वजनिक सवारीसाधनको विकल्पको रुपमा यसलाई हेरिन्छ ।

अझ भनौ विश्वका ठुला र स्मार्ट सिटीको रुपमा नामाकरण गरिएका सहरहरुमा यसको विशेष परीक्षण गरिँदै आएको छ । यो ड्राइभरविहिन यातायातको हिस्सा भएकाले यसलाई स्मार्ट सिटीहरुमा सार्वजनिक सवारीसाधनको रुपमा ठुला देशहरुले लिएका छन् । यसअघि काठमाडौं पडवे नामक कम्पनीले पटकपटक नेपालमा पडवे स्थापनाका लागि पहल गर्दै आईरहेको छ । सोही अनुसार यसअघि शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौंमा देखिएको जाम नियन्त्रण गर्नका लागि विभिन्न स्थानमा पडवे निर्माण गर्न सकिने भन्दै अर्थमन्त्रालयसमक्ष रकमान्तरका लागि आग्रहसमेत गरेका थिए । तर, मन्त्रालयदले यसअघि उक्त आग्रहलाई आत्मसात नगरेपनि बजेटमा भने यसको अध्ययन, लगानी ढाँचा निर्माण र निर्माण अघि बढाउने घोषणा गरेको छ ।

के हो पडवे ?

सामान्यतया आकाशमाथि तारमा झुण्डिएर गुड्ने रेलको एक प्रकार पडवे हो । झट्ट हेर्दा केवलकार जस्तो देखिने यो प्रविधि बिजुलीबाट सञ्चालित हुन्छ । यसलाई संचालन गर्न मानिसको आवश्यक पर्दैन । यो एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत स्वचालित प्रणालीमा आधारित हुन्छ । केबलकारमा केबल घुम्छ भने पडवेमा केबलमा रहेको कार घुम्छ ।

नेपालमा काठमाडौं पडवे कम्पनी यसको आधिकारिक साझेदार रहेको छ । केबलकारलाई ‘मास ट्रान्सपोर्ट’ को रूपमा प्रयोग गर्दा अत्यन्तै खर्चिलो हुने हुँदा पड वे उपयुक्त र प्रभावकारी माध्यम बन्न सक्ने कम्पनीले बताउँदै आएको छ । यो स्थापना गर्नका लागि केहि खर्चिलो भएपनि कालान्तरमा यसले सवारी चाप कम गर्नेदेखि सहरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्न ठुलो भूमिका खेल्ने बताईन्छ । अझ यो सार्वजनिक सवारीासाधनको रुपमा प्रयोग गर्न सकिए आवतजावत पनि छिटो छरितो हुने बताईन्छ । यति मात्र नभएर अन्डर ग्राउन्ड मेट्रो रेल बनाउने लागतको मात्र ४ प्रतिशतमा पडवे निर्माण हुनसक्ने भट्टराईको दाबी छ ।

पडवेमा युनिकार र युनिबसहरु सञ्चालनमा ल्याउन सकिन्छ । युनिकारमा एक पटकमा ६ जना यात्रुले यात्रा गर्न सक्छन् भने युनिबसको क्षमता १४ जनाको हुन्छ । सार्वजनिक यातायातको रूपमा प्रयोग गर्दा युनिबसका डब्बाहरु जोडेर ४२ जना एकै पटकमा यात्रा गर्न सक्छन् । युनिबसले एक घण्टाको राउन्ड ट्रिपमा हजारभन्दा बढी यात्रुलाई गन्तव्यमा पुर्याउन सक्छ ।

नेपालमा चुनौती

विश्वका विभिन्न विकसित देशका स्मार्ट सिटीमा सफल परीक्षण गरिरहेको यो प्रविधि नेपालमा विकास गर्न केही समय भने पक्कै लाग्नेछ । यो जमिनको सतहभन्दा माथि आकाशमा संचालित हुने हुनाले यसका लागि रुटहरुमा ठाउँ ठाउँमा स्टेशन र तारका लागि टावरहरु निर्माण गर्नुपर्छ । त्यसका लागि काठमाडौंजस्तो साँघुरो सहरहरुमा सडकहरु खन्दा यत्तिकै पनि भद्रगोल हुन्छ । त्यसमाथि ठाउँठाउँमा पडवेका लागि गाडिने पोलहरुले केहि समस्या निम्तिने देखिन्छ ।

अझ यसैका लागि भन्दै सरकारले छुट्टै कार्यविधि निर्माणसँगै नयाँ प्रविधिलाई आत्मसात गर्नेगरी अघि बढ्नुपर्ने देखिन्छ । नेपालमा कुनैपनि प्रविधि भित्रिएको बर्षाैंसम्म पनि यसको नीति निर्माण नगरिएको देखिन्छ । जस्तै पठाओ, इन्ड्राइभ, टुटललगायतका राइड सेयरिङ एपहरु नेपालमा संचालन भइरहेपनि नियमन र सहजीकरणका लागि हालसम्म सरकारले कानुन बनाउन नसकिरहेको अवस्थामा पडवे संचालनका लागि आवश्यक कानुन बनाउनै बर्षाैँ लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL