Logo

एनसेलको अर्को करछली बाहिरियो, झण्डै डेढ अर्ब उठाउन महालेखाको निर्देशन

एनसेलको अर्को करछली बाहिरियो, झण्डै डेढ अर्ब उठाउन महालेखाको निर्देशन



काठमाडौं । पटक–पटक करछली प्रकरणमा मुछिदै आएको निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलले अर्को करछली गरेको भेटिएको छ । कम्पनीले नेपालका बैंकहरुबाट व्यवसाय विस्तार गर्नेभन्दै कर्जा लिएर त्यसको दुरुपयोग गरी कर छली गरेको हो । एनसेलले एउटा प्रयोजनका लागि कर्जा लिएपनि अन्यत्र लगानी गर्दै ऋण अपचलन गरी त्यसलाई खर्चमा देखाएर खर्च दावी गरी करछली गरिएको भेटिएको हो ।

महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं लेखापरिक्षण प्रतिवेदन अनुसार कम्पनी २०७८÷७९ मा केहि बैंकहरुबाट लिएको ऋण रकम व्यवसायको आय आर्जनको लागि प्रयोग नगरी विदेशी नियन्त्रित निकाय अजियाटाले तिर्नुपर्ने पुँजीगत लाभकरलगायत नियमित दायित्वहरु भुक्तानीमा प्रयोग गरिएको देखिएको हो । अजियाटाले बुझाउनुपर्ने पुँजीगत लाभकरसँगै अन्य दायित्वमा बैंक ऋण ५ अर्ब ३४ करोड ४८ लाख ८१ हजार रुपैया भुक्तानी गरेको देखिन्छ । तर कम्पनीले त्यसरी कर्जा अपचलन गरी गरेको भुक्तानीलाई खर्चमासमेत गणना गरेपछि महालेखाले उक्त भुक्तानीको खर्च कट्टीमा मान्य नहुने उल्लेख गरेको छ । साथै उक्त रकमलाई खर्च कट्टी अमान्य मानी २५ प्रतिशतले हुने कर १ अर्ब ३३ करोड ६२ लाख २० हजार रुपैयाँ र सोमा लाग्ने ब्याज र शुल्कसमेत असुल गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ ।

खासगरी आयकर ऐन २०५८ को दफा १४ अनुसार कुनै व्यक्तिले कुनै आय बर्षमा व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनका लागि सो व्यवसाय गर्दा सिर्जना भएको ऋण दात्विको ब्याज खर्च कट्टी गर्न पाईने व्यवस्था छ । तर, एनसेलले आफ्नो उठ्नुपर्ने रकम नउठाउने र व्यवसायिक प्रयोजन बेगरको कार्यमा प्रयोग भएको ऋणको ब्याजसमेत खर्च दाबी गरको पाईएको हो । यसमार्फत सरकारलाई कम्पनीले झण्डै डेढ अर्ब रुपैयाँ राजस्व छली हुने देखिन्छ । तसर्थ महालेखाले २५ प्रतिशत करसहित ब्याज र शुल्क पनि निर्धारण गरी असुल गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्