Logo

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख नाघ्यो, यो वर्ष दुई लाख ८५ जना विदेशिए

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख नाघ्यो, यो वर्ष दुई लाख ८५ जना विदेशिए



काठमाडौं । तीस वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको जनाएको छ । जसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत छन् ।

आइतबार सार्वजनिक आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको हो । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।

प्रतिवेदनको अनुसार चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार रहेको छ । जसमध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् । वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देशलाई खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

चालु आर्थिक वर्षमा ९ लाख ८० हजार बढी विद्युतीय राहदानी जारी

चालु आर्थिक वर्ष २०८०/८१ फागुन मसान्तसम्म ९ लाख ८० हजारभन्दा बढी विद्युतीय राहदानी जारी भएको देखिएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा राहदानी लिनेको संख्या ९ लाख ८० हजार ६ सय ४१ थान देखिएको हो । गत आवमा १४ लाख ३५ हजार ६ सय ९९ जनाले विद्युतीय राहदानी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्