Logo

दमौलीको मुख्य चोकका सटरमा भीषण आगलागी, २० वटा पसल पूर्णरूपमा जले

दमौलीको मुख्य चोकका सटरमा भीषण आगलागी, २० वटा पसल पूर्णरूपमा जले



काठमाडौं । तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य चोकका बजारमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्य चोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी भएको हो ।

आगलागीका कारण यहाँका करिब २० वटा पसल पूर्णरूपमा जलेका छन् । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ। तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाएको प्रहरीले बताएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगो नियन्त्रणमा सहज भएको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए । विद्युत् ‘सट’ हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL