Logo

१० महिनामा ५३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, स्वचालित प्रणालीबाट मात्रै २ अर्ब १५ करोड स्वीकृत

१० महिनामा ५३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, स्वचालित प्रणालीबाट मात्रै २ अर्ब १५ करोड स्वीकृत



काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो १० महिना (साउन–बैशाख)मा मात्रै ५३ अर्ब बढीको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा नयाँ परियोजना र पुराना परियोजना गरी ४ सय २० परियोजनामार्फत ५३ अर्ब १ करोड ८७ लाख ७४ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।

जसमध्ये ३ सय ७ परियोजनामार्फत ४१ अर्ब ३८ करोड रुपैयाँ नयाँ परियोजनामा लगानी भित्रिएको हो भने ९ अर्ब ४७ करोड रुपैयाँ ९२ ओटा पहिल्यै स्थापित परियोजनामा एसपीए र एसएसएमार्फत लगानी प्रतिवद्धता आएको हो । सरकारले बैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गरेसँगै बैशाख महिनामा मात्रै १३ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यसमध्ये बैशाख १६ गतेदेखि संचालनमा आएको उद्योग विभागको स्वचालित प्रणालीमार्फत मात्रै २ अर्ब १५ करोड ८९ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।

बैशाख १६ देखि संचालनमा आएको उद्योग विभागको स्वचालित प्रणालीमार्फत ५० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वतः स्वीकृत हुने व्यवस्था गरिएको छ । चालु आवको १० महिनामा आएको वैदेशिक लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी ४७ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको विभागले जानकारी दिएको छ ।

यस्तै सेवा क्षेत्रका उद्योगमा ३४ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा ११ प्रतिशत, सूचना तथा प्रविधि क्षेत्रका उद्योगमा ३ प्रतिशत, पूर्वाधार र कृषि क्षेत्रमा समान २ प्रतिशत र खानीजन्य र उर्जामुलक क्षेत्रमा समान १ प्रतिशत लगानी प्रतिवद्धता आएको छ । यसरी आएको लगानी प्रतिवद्धता गत आर्थिक बर्षको बैशाखको तुलनामा झण्डै १२ अर्बले बढी हो । गत बर्षको बैशाखमा जम्मा १ अर्ब ९५ करोड हाराहारीमा लगानी प्रतिवद्धता आएकोमा यो बर्षको बैशाखमा १३ अर्ब नाघेको हो ।

खासगरी चालु आर्थिक बर्षको लगानी सम्मेलनमै विभिन्न परियोजनामा १६ अर्ब बढीको लगानी प्रतिवद्धता आउँदा यो बर्ष गत आवको तुलनामा उच्च लगानी प्रतिवद्धता आएको विभागका सूचना अधिकारी अर्जुन सेन ओली बताउँछन् । उनका अनुसार गत आर्थिक बर्षको १० महिना अर्थात बैशाखसम्म जम्मा ४५ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । तर, यो बर्षको बैशाखसम्म भने यस्तो प्रतिवद्धता करिव ८ अर्बले बढेको हो ।

बैशाख महिनामा लगानी प्रतिवद्धतासँगै २४ करोड १७ लाख रुपैयाँ लाभांस पनि फिर्ता गएको छ । विदेशी लगानीकर्ताहरुले नेपालमा स्थापित गरिएका र भएका परियोजनाबाट लाभांस लैजान्छन् । जुन चालु आवको बैशाखसम्म मात्रै ९ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै लगानीकर्ताहरुले चालु आबको बैशाखसम्म करिव साढे ३ अर्ब रुपैयाँ रोयल्टी पनि फिर्ता लगेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL