Logo

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, अवरुद्धदेखि बहिष्कारसम्मको तयारीमा कांग्रेस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, अवरुद्धदेखि बहिष्कारसम्मको तयारीमा कांग्रेस



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सत्ता साझेदार नेकपा एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए । विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकारमा सहभागी नहुने उनले बताए । ‘केन्द्रबाट अर्को निर्देशन नआउञ्जेलसम्म एमाले प्रदेश सरकारमा सहभागी हुने छैन,’ प्रमुख सचेतक पालले भने ।

सर्वोच्च अदालतमा सोडारीविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा विश्वासको मत लिने विषय थप त्रुटिपूर्ण हुने र त्यसको विरोधमा उत्रिने नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रम धामीले बताएका छन् । ‘मुद्दामा आज सुनुवाइ तोकिएको छ । बिहान १०ः१५ मा विश्वासको मत लिँदै हुनुहुन्छ । इतिहासमै नभएको यस्तो कार्यले षड्यन्त्रको गन्ध आइरहेको छ,’ उनले भने, ‘त्यसैले हामी यसको प्रतिवाद गर्छौं ।’ यसअघिका मुख्यमन्त्रीका दाबेदार नाउपाका लक्ष्मणकिशोर चौधरी सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री सोडारीविरुद्ध अदालत गएका छन् ।

कांग्रेसले संसद अवरुद्धदेखि बहिष्कारसम्मको तयारी गरेको छ । बिहीबार बिहान ८ बजे बस्ने संसदीय दलको बैठकले कुन रुपमा प्रस्तुत हुने विषयमा आधिकारिक निर्णय गर्ने प्रमुख सचेतक धामीले बताए । ‘मुद्दा विचारधीन रहेको समयमा विश्वासको मतका लागि बोलाइएको बैठकमा हाम्रो आपत्ति हो ।’

प्रतिक्रिया दिनुहोस्