Logo

भाटभटेनीका अध्यक्ष गुरूङद्वारा डा. कोइरालाको बाल अस्पताललाई ४१ करोड सहयोग

भाटभटेनीका अध्यक्ष गुरूङद्वारा डा. कोइरालाको बाल अस्पताललाई ४१ करोड सहयोग



काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रूपैयाँको सहयोग गर्ने घोषणा गरेका छन्‌ ।

कोइरालाको नेतृत्वमा निर्माणाधीन अस्पताल क्षेत्रमा पुगेर गुरूङले ४१ करोड रूपैयाँ सहयोगको घोषणा गरेका हुन्‌ । कोइरालाले पैसा नै नभएको बेला अस्पतालको परियोजना अघि सारेको बताए । कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन्‌ ।

कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ । ‘अहिले पनि दमकस्थित बाल अस्पतालमा दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको छ,” डा. कोइरालाले भने, ‘यो अस्पतालले पूर्व क्षेत्रमा धेरै सहयोग गरेको हामीले पाएका छौँ ।’

सहयोग रकम घोषणापछि भाटभटेनीका अध्यक्ष गुरूङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई भित्रैबाट खुसी लागेको बताए । भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरेका छन्‌ । गुरूङले वि।सं। २०६८ सालमा बुवा वृषबहादुर गुरूङ र आमा धनमाया गुरूङको नाममा इमर्जेन्सी भवन बनाएका थिए ।’

उक्त भवन ११ करोड रूपैयाँमा निर्माण गरेका गुरूङले भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन पनि निर्माण गरेका थिए । पछिल्लो ईएचएस भवन १५ करोड लागतमा बनेको हो ।

डा। कोइरालाको अस्पताल परियोजनामा करिब १ लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना गुरूङको छ । सो भवनमा बेसमेन्ट पार्किङ, इमर्जेन्सीसहित २० शैया रहनेछ । सोही भवनमा आईसीयू, एनआईसीयूलगायत कक्ष रहनेछन्‌ भने माथि हेलिप्याड पनि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL