काठमाडौँ । बक्यौता कर रकम दाखिला गर्न भन्दै ठुला करदाता कार्यालयले उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी गरेको छ ।
कर दाखिला गर्न विभिन्न मितिमा अनुरोध गरिएपनि दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो । कार्यालयका अनुसार केही करदाताले पूरा कर दाखिला नगरेको र केहीले भने दाखिला नै नगरेको देखिएको छ ।
सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्नुहुन वा दाखिला गरिसकेको भए सोको प्रमाण पेश गर्नुहुन अनुरोध छ ।’ तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही हुने जनाइएको छ ।