Logo

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रम दाहालको आग्रह,पूर्णरुपमा सुरक्षा दिने आश्वासन

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रम दाहालको आग्रह,पूर्णरुपमा सुरक्षा दिने आश्वासन


बिजखबर संवाददाता
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । शुक्रवार भारतको होटल ताजमा नेपाली र भारतीय व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हु्न । लगानीका लागि नेपाल उपयुक्त गन्तव्यव भएको बताएका भन्दै नेपाली तथा भारतीय लगानीकर्तालाई नेपाली कानुनले समान व्यवहार गरेकाले लगानी बढाउन आग्रह गरे।

‘नेपालमा नेपाली तथा भारतीय लगानीलाई कुनै पनि भेदभाव गरिदैन’ उनले भने ‘त्यसैले तपाईहरु ढुक्क भएर नेपालमा लगानी गर्नसक्नुहुनेछ । ’

सो अवसरमा प्रधानमन्त्री दाहालले भारतीय लगानीका लागि सबैभन्दा राम्रो लगानीको स्थान नेपाल बन्न सक्ने बताए । ‘ नेपाल सानो देश हो, तर नेपालमा लगानीको थुप्रै सम्भावना छ’ उनले भने । साथै उनले भारतीय लगानीकर्तालाई पूर्णरुपमा सुरक्षा दिने विश्वास दिलाए।

कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कुल व्यापारको ६५ प्रतिशत भारतसँगको व्यापार रहेको उल्लेख गर्दै बजारमा लगानी पनि आवश्यक रहेको बताए। महतले नेपालमा जलविद्युत्, जडीबुटी एवम् कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरे। नेपालले अपनाएको उदार नीतिबाट नेपाल विश्वकै उपयुक्त लगानी गन्तव्य भएको उनको भनाइ थियो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपाल र भारतीय व्यापारी तथा उद्योगीको सम्बन्ध सदियौँ पुरानो र मजबुद रहेकाले दुई देशका उद्योगी मिलेर नेपालको विकास गर्नुपर्ने अवस्था आएको बताए । उनले नेपाल लगानीका लागि उपयुक्त स्थान भएको प्रष्ट पारे।

सो कार्यक्रममा भारतीय लगानीकर्ताका तर्फबाट एससी अग्रवालले प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि विश्वास दिलाएको प्रति खुसी व्यक्त गरे । साथै त्यसका लागि आफूले पहल गर्ने बताए। उनले नेपाल लगानीका लागि अवरोधभन्दा पनि पुलका रुपमा रहेकाले विश्वासको वातावरण बनेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्