Logo

नर्भिकमा विश्वस्तरीय शल्यक्रिया कक्ष, २ सय शैय्याको अत्याधुनिक प्रविधिसहितको नयाँ भवन थपिदै

नर्भिकमा विश्वस्तरीय शल्यक्रिया कक्ष, २ सय शैय्याको अत्याधुनिक प्रविधिसहितको नयाँ भवन थपिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नवनिर्मित जेसी ( जोइन्ट कमिसन इन्टरनेशनल)मापदण्ड बमोजिम निर्माण गरिएको विश्वस्तरीय शल्यक्रिया कक्ष उद्द्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमवीच उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सो कक्षको उद्दघाटन गरे ।

सो अत्याधुनिक शल्यक्रिया सुइट्स्मा युरोपेली स्तरका ३ वटा शल्यक्रिया कक्षहरू, प्रि एण्ड पोष्ट अपरेटिभ वार्ड, सर्जिकल इन्टेन्सिभ केयर युनिट, बिरामी परामर्श लाउञ्ज छ । त्यस्तै केन्द्रिय निर्मलीकरण विभाग, फार्मेसी, चिकित्सक लाउञ्ज नर्स स्टेशन लगायतका सम्पूर्ण सेवा,सुविधाहरू एउटै तल्लामा रहेका छन् ।

शल्यक्रिया कक्ष पूर्ण रुपमा संक्रमणरहित रहेको छ । यसको निर्माणमा प्रयोग भएका प्यानेलहरू अग्नी निवारक, भार बहन गर्ने क्षमता अत्यधिक भएको टुटफुट नहुने र धातुरहित भएकाले खिया लाग्ने, खिइने, बाङ्गिेनलगायत समस्या नभएको बताइएको छ । विशुद्ध युरोपेली मापदण्ड बमोजिमका हुनुका साथै कुनै रसायनले नपग्लिने, नघोलिने प्रकृतिका छन् । निर्माणमा प्रयोग भएका सामग्री तथा उपकरणहरू अमेरिकी खाद्य तथा औषधि नियोग बाट प्रमाणित भएको बताइएको छ ।

समारोहमा उपप्रधान तथा अर्थमन्त्री महराले स्तरीय स्वास्थ्य सेवाका कारण लोकप्रिय नर्भिकले नयाँ प्रविधियुक्त सेवा सुविधा थपिँदा यसको विश्वसनीयता अझै बढ्ने विश्वास व्यक्त गरे । त्यस्तै स्वास्थ्य क्षेत्रमा भएका तमाम कमी कमजोरी सच्याएर अघि बढ्न नयाँ सरकार तयार रहेको समेत बताए ।सो अवसरमा मन्त्री महराले सुइट्स्का सबै कक्षहरू अवलोकन गरे ।

समारोहमा नर्भिकका अध्यक्ष बसन्त चौधरीले आम नेपालीले स्तरीय स्वास्थ्य सेवा आफ्नै घरदैलोमा पाउनुपर्ने भन्ने उद्देश्य अनुरुप पिताको सपना पूरा गर्न विगत २५ वर्षदेखि आफू लागिपरेको धारणा बताए । सो योजना अनुरुप यसै वर्ष २ सय शय्यायुक्त अत्याधुनिक प्रविधिसहितको नयाँ भवन, आवाजविहिन अति विशिष्ट एमआरआई, २ सय ५६ स्लाइसको सीटी स्क्यान आदि थपिने बताए ।

साथै २ महिनाभित्रै अत्याधुनिक प्रविधिसम्पन्न निःसन्तान केन्द्र र हेमो डायलाइसिस सेन्टर थप्ने, नर्भिकको स्याटलाइट सेन्टरका रुपमा पोखरा र विराटनगरमा बहुआयामिक र विशिष्टस्तरका स्वास्थ्य संस्थाहरूको सुरुवात गरिने जानकारी दिए । उनका अनुसार दक्षिण भारतको प्रसिद्ध क्यान्सर हस्पिटलसँगको सहकार्यमा १ सय शैय्यायुक्त छुट्टै अत्याधुनिक क्यान्सर हस्पिटल सञ्चालनार्थ काम सुरु गर्ने योजना छ ।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले नर्भिकको सेवास्तर विश्वस्तरीय पार्न हर सम्भव प्रयास गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्