Logo

देशैभर डढेलोको प्रकोप, वन डढेलो संकट घोषणा गर्न माग

देशैभर डढेलोको प्रकोप, वन डढेलो संकट घोषणा गर्न माग



काठमाडौँ । नेपाल वन प्राविधिक सङ्घ (एनएफए) ले वन ढडेलो सङ्कट घोषणा गर्न सरकार समक्ष माग गरेको छ । एनएफएले विज्ञप्ति जारी गर्दै बढ्दो वन डढेलो नियन्त्रणका लागि सङ्कटकाल घोषणा गर्न माग गरेको हो । महासङ्घका अध्यक्ष राकेश कर्णले वन डढेलोका कारण देशव्यापी रुपमा प्रभाव परेको, वातावरणीय प्रदूषण बढिरहेकोले वनलाई डढेलोबाट जोगाउन आवश्यक रहेको बताएका छन् ।

‘वन डढेलोको कारण वनविनास भएको छ, बस्ती जोगाउनै मुस्किल भएको छ’, उनले भने, ‘वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि जुटाउन र सङ्कट घोषण गर्न आवश्यक छ ।’ उनले वन डढेलो नियन्त्रणको क्रममा मृत्यु हुने नेपाली सेनाका जवानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्राकृतिक स्रोत संरक्षण कार्य चुनौतीपूर्ण रहेको डोल्पाको घटनाले प्रष्ट पारेको उनको भनाइ छ । कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरि नगरपालिका बडा नं ३ र ४, तिन्नाको मस्टा भवानी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा मंगलबार डोल्पास्थित देवीदत्त गुल्ममा कार्यरत ३८ वर्षीय जमदार केशवबहादुर जागा मगर, सिपाहीहरु २२ वर्षीय हेमन्त रावत र ३८ वर्षीय आशिष बुढाको मृत्यु भएको थियो । विजय कोइराला गम्भीर घाइते भई काठमाडौँमा उपचारत छन् ।

वन डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका जवानलाई संरक्षण सहिद घोषणा गर्न र घाइतेको निःशुल्क उपचार गर्न एनएफएले माग गरेको छ । मृतकको परिवारजनलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL