Logo

बन्दीपुरमा बन्यो ५६ करोड लागतमा पाँचतारे होटल, नयाँ वर्षदेखि सञ्चालन हने

बन्दीपुरमा बन्यो ५६ करोड लागतमा पाँचतारे होटल, नयाँ वर्षदेखि सञ्चालन हने



काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो ।

५६ करोड रुपैयाँको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । आगामी वैशाख १ गते नयाँ वर्षको अवसरमा पाँचतारे होटल सञ्चालनमा ल्याइने तयारी भइरहेको उनले बताए ।

क्वीन टावर अन्तिम चरणमा

बन्दीपुर–४ स्थित केबलकारको माथिल्लो स्टेशनमा निर्माणधीन सत्र तलाको ‘क्वीन टावर’ को काम अन्तिम चरणमा पुगेको छ । पाँचतारे होटलसँगै केबलकार पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माणलाई तिव्रता दिइएको कम्पनीका अध्यक्ष शर्माले बताए । अन्तराष्ट्रियस्तरको ‘क्यूए सर्टिफिकेट’ लिने कार्य बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको कम्पनीले जनाएको छ ।

‘केबलकारमा अहिले कम्पनीमा कार्यरत कर्मचारी ल्याउने लैजाने कार्य भइरहेको छ’, उनले भने, ‘सर्वसाधारण बोक्ने योजना तत्काललाई बनाइएको छैन ।’ एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले आनन्दका साथ यात्रा गर्न सक्नेछन् ।

केबलकारको अहिले पटक–पटक परीक्षणको गर्ने कार्य भइरहेको अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ वटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रुको क्षमता हुनेछ । ‘एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ’, उनले भने ।

केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए । उनले भने, ‘न्यूनतम रु ५० देखि रु २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।’

पृथ्वीराजमार्गमा रहेको तल्लो स्टेशनबाट माथि स्टेशनको बन्दीपुर बजारस्थित कलेजमा पढ्न जाने र आउने विद्यार्थीलाई पचास रुपैयाँ, पत्रकारलाई तीन सय पचास रुपैयाँ, अन्य यात्रुका लागि पाँच सय रुपैयाँ, रेष्ट्रो क्याबिनको २५ हजार रुपैयाँ र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ ।

केबलकार र पाँचतारे होटल गरी कूल तीन अर्ब रुपैयाँ अन्ठाउन्न करोडको लागतमा निर्माण सम्पन्न गर्न लागिएको कम्पनीका इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए। उनका अनुसार बन्दीपुर आउने पर्यटकले केबलकारबाटै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस्