काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णीम वाग्लेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न निषेध गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले असहिष्णुता र अनुदारवाद कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् ।
उनले कांग्रेसले सहकारीको महाकाव्य नै लेख्न बसे जसरी दिनहुँ एउटै कुरा गरिरहेको आरोप लगाए । कांग्रेसले समाधान भन्ने कुरा नगरेको उनको टिप्पणी छ । वाग्लेले संसदीय छानबिन समिति बनाउन आपत्ति नभएको बताएका छन् । उनले आरोप लाग्दैमा र जाहेरी पर्दैमा राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो भन्दै कांग्रेसलाई प्रश्न गरे ।
‘सर्वदलीय सहमति गरौं । आरोप लाग्नासाथ राजीनामा गरौं । मन्त्रीले मात्रै होइन सांसदले पनि राजीनामा गरौं’, उनले भने, ‘आरोप लाग्यो र जाहेरी पर्यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो ?’ उनले यसमा सर्वदलीय सहमति हुने भए पहिलो हस्ताक्षर रास्वपाले गर्ने बताए । वाग्लेले पहिले गृहमन्त्रीको जवाफ सुन्न आग्रह गरे । सहकारी ठगी प्रकरणका जोडिएका लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनका लागि कांग्रेसले माग राख्दै आएको छ ।