काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री जम्कट्टेलले आज १ बजे बस्ने प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । ११० सदस्यीय प्रदेशसभामा उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ ।
प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीको २ मत छ । यस अवस्थामा सत्ता समीकरणका सबै दलले मत दिएमा मुख्यमन्त्रीले विश्वासको मत पाउने देखिन्छ । तर एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने अहिलेसम्म निश्चित नहुदा जम्कट्टेलले विश्वास मत पाउछन् भन्ने अवस्था रहेको छैन ।
प्रदेशमा नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् । तिनै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।
सत्ता घटक दल एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत नदिने निष्कर्ष निकालेपछि मुख्यमन्त्री जम्कट्टेल संकटमा परेका छन् ।
यसअघि हाम्रो नेपाली पार्टीलाई सरकारमा ल्याएर विश्वासको मत पाउने निश्चित भएकोमा अब एकीकृत समाजवादीले सती प्रदेशमा भागबन्डा खोज्दै बागमती सरकारलाई विश्वासको मतको पक्षमा नउभिने निर्णय गरेको हो । एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण शर्मा खनालले समान सहभागिता हुने सुनिश्चितता नभएको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताएका छन् ।
त्यस्तै हाम्रो नेपाली पार्टी सरकारमा सामेल भएपनि पार्टीले निर्णय नगरेको भन्दै विवाद भएको छ । दुई सांसद रहेको हानेपाले पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै विवाद बढेको छ ।
यसैबीच नयाँ सत्ता समीकरणमा रहेका दलका शिर्ष नेताहरुबीच आइतबार बागमती प्रदेशको विषयमा छलफल गर्न बैठक बसेपनि अनिर्णित भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सात प्रदेश मध्ये एक प्रदेशमा नेतृत्व पाउनुपर्ने, सबै प्रदेशमा सम्मानजनक सहभागिता पाउनु पर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भाग पाउनुपर्ने माग राखेको बताइएको छ । उनले भागबण्डा स्पष्ट नभए बागमतीमा विश्वासको मत दिन एकीकृत समाजवादी बाध्य नहुने चेतावनी समेत दिएका छन् ।