Logo

दशैको लागि अग्रीम टिकट बुकिङ अझै अन्यौलमा, कच्ची सडकमा ‘रुट परमिट’ दिँदै सरकार

दशैको लागि अग्रीम टिकट बुकिङ अझै अन्यौलमा, कच्ची सडकमा ‘रुट परमिट’ दिँदै सरकार


रक्षा रेग्मी
0
Shares

काठमाडौं । दशै नजिकिँदै जाँदा अग्रीम टिकट वुकिङ गर्ने विषय भने अन्यौलमा परेको छ । मुग्लिन–नारायणघाट सडकखण्ड नबनेका कारण अग्रीम टिकट बुकिङ खुला गर्ने विषय नै अन्यौलमा परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले बताए । ‘गाडी चल्ने बाटो नै छैन भने व्यवसायीले टिकट बुकिङ गरेर मात्र के गर्ने ?,’ उनले भने, ‘पहिला चल्ने बाटो राम्रो हुनुपर्यो त्यसपछि मात्र टिकट बुकिङ खुला गछौं ।’
यसैगरी सरकारले गाउँगाउँका कच्ची सडकमा जानका लागि अस्थायी रुट परमिट बन्द गरेकाले पनि अग्रीम टिकट बुकिङ अन्यौलमा परेको

महासंघको भनाइ छ । ‘काठमाडौंबाट लामो दूरीका सवारीहरु यात्रु लिएर गाउँका कच्ची सडकमा जानु पर्छ,’ खनालले भने, ‘तर, सरकारले कच्ची रुटमा जानका लागि रुट परमिट नै बन्द गरेको छ ।’ रुट परमिट खुला नगरेसम्म दशैको लागि अग्रीम टिकट बुकिङ खुला नगर्ने समेत उनीहरुको भनाइ छ । पछिल्लो समय कच्ची सडकमा दुर्घटना हुने क्रम बढेसँगै सरकारले त्यस्ता सडकमा यात्रुवाहक सार्वजनिक सवारी संचालनका लागि रोक लगाएको छ ।
टिकट बुकिङ खुला गर्ने सम्बन्धमा व्यवसायी र सरकारबीच पटक पटक छलफल हुँदै आएको छ । सो विषयमा मंगलबार पनि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक र महासंघका पदाधिकारीबीच छलफल भएको थियो । उक्त छलफलमा पनि व्यवसायीहरुले मग्लिन–नारायणघाट सडक खण्ड निर्माण कार्य चाडो सकेर कच्ची सडकमा रुट परमिट दिन आग्रह गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सरकारले भने दशैको लागि कच्ची रुटमा गाडी संचालनको लागि रुट परमिट खुला गर्ने जानकारी दिएको छ । दशै तिहारको समयमा कच्ची सडकमा रुट परमिट नदिँदा धेरै यात्रुहरु अलपत्र पर्ने भन्दै खुला गर्न लागिएको मन्त्रालयले भनाइ छ । यदि सरकारले चाँडै नै रुट परमिट खुला गरेमा असोजको पहिलो हप्ताबाटै अग्रीम टिकट बुकिङ खुला गर्ने महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL