Logo

मस्को हमलामा ज्यान गुमाउनेको संख्या ९३ पुग्यो, नेपालद्वारा आक्रमणको निन्दा

मस्को हमलामा ज्यान गुमाउनेको संख्या ९३ पुग्यो, नेपालद्वारा आक्रमणको निन्दा



काठमाडौँ । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ९३ पुगेको छ । शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या ९३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आइसीआरले जनाएको छ । आन्तरिक मामिला मन्त्रालय र संघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ ।
मृतकको शवको जाँच भइरहेको छ भने अपराधस्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ ।

घटनास्थलमा रहेका आरआईए नोभोस्ती समाचार संस्थाका सम्वाददाताका अनुसार नकावधारी आक्रमणकारीले शुक्रबार एक्कासी भवनभित्र पसेर गोली चलाउनुका साथै भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए । घटनाको जिम्मेवारी इस्लामिक स्टेट समूह (आइएसआइएस) ले लिएको र आफ्ना लडाकुहरूले आक्रमण गरेर सकुशल आफ्नो स्थानमा फर्किएको बताएको छ ।
नेपाल सरकारद्वारा मस्को आक्रमणको निन्दा
नेपाल सरकारले रुसको राजधानी मस्कोमा भएको साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत घटनाप्रति खेद व्यक्त गर्दै रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भर्त्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ ।’

नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL