काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई आज बयान दिएर निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले बाँसबारी जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका हुन् । उनले घटनालाई राजनीतिकरण गरिएको बताउँदै आफुले अनुसन्धानमा सघाउने बताएका छन् ।
उनले भने ‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ । ४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’
उनीसँग सीआइबीले करिब दुई घण्टासम्म बयान लिएको थियो । सिआइबीले यस अघि बुधबार उनका भाई बसन्त चौधरीसँग पनि बयान लिएको थियो । सिआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा सांसद चौधरीमाथि छानबिन गरिरहेको छ । यसअघि बुधबार सिआइबीले सांसद चौधरीमाथि छानबिन भइरहेको भन्दै सभामुख घिमिरेलाई जानकारी गराउदै पत्र संसद सचिवालयमा पत्र दर्ता गराएको थियो ।
काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ । गत सोमबार बाँसबारी जग्गा प्रकरण बारे चौधरीले संसदमा बोल्दै सरकारले गरेको निर्णय अनुसार आफुहरुले सो जग्गा लिएको दाबी गरेका थिए ।
यसअघि सिआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेर ६ दिनपछि जिल्ला अदालत काठमाडौँको आदेशमा हाजिरी जमानीमा छोडेको थियो ।