काठमाडौं । गुल्मीमा मदन भण्डारी राजमार्ग खडकखण्ड अन्तर्गत रिडी–तम्घास सडकखण्ड आज (बुधबार) देखि तीन हप्तासम्म बन्द हुने भएको छ । आजदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र राति पनि १० बजेदेखि ४ बजेसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयकी इन्जिनियर एवम् सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिइन् ।
कार्यालयले सार्वजनिक सूचना निकालेर रिडी–तम्घास खण्डमा सडक विस्तारको काम भइरहेको र अबको तीन हप्ता वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको हो । सडक निर्माणको क्रममा पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउनेलगायतका काम हुने आयोजनाले जनाएको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले अहिलेका लागि तीन हप्ता सडक बन्द गर्ने निर्णय गरेको थियो । मुख्य सडक बन्द हुँदा वैकल्पिक सडकका रुपमा गुल्मीको पानीट्याङ्की–थोर्गा–स्यालपोखरी–सालबिसौनीदेखि रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीदेखि–चारापाला–खज्र्याङ्ग हुँदै रिडी सडक प्रयोग गर्न सकिन्छ । रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ ।