Logo

कपिलवस्तुबाट पक्राउ परेका महरालाई बिमानस्थलबाट सीधै सीआइबी पुर्याइयो, सोधपुछ गरिदै

कपिलवस्तुबाट पक्राउ परेका महरालाई बिमानस्थलबाट सीधै सीआइबी पुर्याइयो, सोधपुछ गरिदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ । केहीबेर अघि मात्रै भैरहवा विमानस्थल हुँदै काठमाडौँ ल्याइएका महरालाई सोधपुछका लागि त्रिभुवन विमानस्थलबाट सिधै सीआईबीको कार्यालय लगिएको हो । आज बिहान ९ बजे कपिलवस्तुको पकडीबाट महरालाई पक्राउ गरिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले आज बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको जानकारी दिए । नेता महरालाई कपिलवस्तुबाट अहिले काठमाडौँ ल्याइएको प्रवक्ता ढकालले जानकारी दिए । यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिएर कागज गरेर छाडेको थियो ।

यसैबीच सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्