Logo

कर्मचारीलाई बालेनको निर्देशन : भ्रमण, गोष्ठी र कार्यशाला घटाउनु

कर्मचारीलाई बालेनको निर्देशन : भ्रमण, गोष्ठी र कार्यशाला घटाउनु



काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आज यहाँ आयोजित छलफलमा उहाँले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिए ।

‘गलत गर्नु हुँदैन, गल्ती गर्नेलाई कारबाही हुनु, राम्रो गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । असल नियतले काम गर्दागर्दै भएको भूललाई सहज लिनुपर्छ । मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन,’ प्रमुख शाहले भने, ‘गएको वर्षको तुलनामा यस वर्ष गुनासा कम छन् । सुधारका सङ्केतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनू, भौतिक प्रगति कति भएको छ हेर्नू, काम भइसकेपछि भुक्तानी नरोक्नू, कोही कर्मचारी बिदामा बसेका कारण सेवा प्रभावित हुनु हुँदैन । कोही बिदामा बस्दा सेवा प्रवाह नरोकिने व्यवस्था मिलाउनुपर्छ ।’

उनले वर्षौंसम्म काम गरिरहेका कर्मचारीको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘धेरै कार्यक्रममध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर हामीले महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन दायित्व विभागीय प्रमुखहरुको हो । यसलाई प्राथमिकता राख्नुहोला ।’

लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिए। बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी सहभागी थिए । यस क्रममा विभागका प्रमुखहरुले प्रगतिको सङ्क्षिप्त जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL