Logo

राजनीतिक रुपमा समस्या आएपछि गठबन्धन परिवर्तन भयो : प्रधानमन्त्री

राजनीतिक रुपमा समस्या आएपछि गठबन्धन परिवर्तन भयो : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो गठबन्धनमा व्यक्तिगत रुपमा कुनै समस्या नभएको स्पष्टीकरण दिएका छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत हिसाबले अघिल्लो गठबन्धनमा कुनै समस्या नरहेपनि राजनीतिक रुपमा समस्या आएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले माओवादी केन्द्रलाई कोशी प्रदेशमा धोका दिएको, राष्ट्रिय सभा निर्वाचनमा धोका दिएको, कांग्रेसले महासमिति बैठकमा राजनीतिक रुपमा मानमर्दन गरेको आरोप लगाएका छन् ।

उनले महासमिति बैठकमा धर्मनिरपेक्षताको विरोधमा स्टल नै राखेर हस्ताक्षर अभियान चलाएको भन्दै यसले कांग्रेसको संबिधानमाथिको प्रतिबद्धतामा आशंका बढेको बताए । “मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।”

आफूले चालेका कदम देश र जनताको हितमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ ।”

प्रतिक्रिया दिनुहोस्
MBL