Logo

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, त्रिशुलीले बगाएर दुई किमि तल पुर्‍याएका यात्रुको जीवितै उद्धार

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, त्रिशुलीले बगाएर दुई किमि तल पुर्‍याएका यात्रुको जीवितै उद्धार



काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ । ज्यान गुमाउनेमा ६ पुरुष र एक महिला छिन् । ३८ यात्रुको उद्धार गरिएको छ । सात जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको र अरुको भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

बस दुर्घटनामा घाइते भएका एक जनाको नदीले बगाउँदै गरेको अवस्थामा उद्धार भएको छ । नदीले बगाएर घटनास्थलबाट करिब दुई किमी तल पुर्याएका एक घाइतेको सशस्त्र प्रहरीको बिपद् ब्यबस्थापन टोलीले जीवितै उद्धार गरेको हो । नदीबाट निकालेर उनलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेट जाँदा धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ ।

ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीयबासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएको छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL