Logo

सरकारले टिकटकको दबाव थेग्न नसकेको हो ? किन सबैतिर चल्दैछ प्रतिबन्धित टिकटक ?

सरकारले टिकटकको दबाव थेग्न नसकेको हो ? किन सबैतिर चल्दैछ प्रतिबन्धित टिकटक ?



काठमाडौं । सरकारले संचालनमा प्रतिबन्ध लगाएको टिकटक पछिल्लो समय खुलेआम चल्न थालेको छ । सबैजसो इन्टरनेट सेवाप्रदायकले मन्त्रिपरिषदको निर्णयसँगै नेपालमा चलाउन नसकिने बनाएको टिकटक पुनः आन्तरिक रुपमा चलाउन सकिने बनाएका छन् । अर्थात सरकारले यसको प्रतिवन्धको घोषणा गरेपनि त्यसको उचित नियमनमा ध्यान नदिँदा पछिल्लो समय यसको प्रयोग खुलेआम भइरहेको हो ।

गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । त्यसयता तालुकदार निकाय संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसंचार प्राधिकरणले यसलाई प्रतिबन्ध लगाउन राम्रै भूमिका पनि खेलेका थिए । तर, मन्त्रिपरिषदले नै निर्णय गरेको करीब ३ महिना नवित्दै सरकारी निर्णय नै फेल हुनेगरी नेपालमा संचालित प्रमुख इन्टरनेट सेवाप्रदायकले नै यसको संचालन सुरु गरेका हुन् ।

खासगरी पछिल्लो समय टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै नेपाली कानूनअनुसार चल्ने र सोहीअनुसार अल्गोरिदम बनाउने बताउँदै सरकारलाई दबाव दिँदै आएको छ । तर, मन्त्रिपरिषदकै बैठकले गरेको निर्णयलाई सजिलै लत्याउन नसकेको सरकारले भित्रभित्रै यसलाई खुकुलो गरिरहेको पाइएको छ ।

हाल नाम चलेका र धेरै ग्राहक भएकै इन्टरनेट सेवाप्रदायकसँगै साना सेवाप्रदायकले पनि प्राधिकरण र मन्त्रिपरिषदकै नियमको उल्लंघन गर्दै टिकटकको प्रतिवन्धलाई खुकुलो पारेको देखिन्छ । यसको उचित अनुगमन र नियमनको कमीका कारण हाल धेरैजसो स्थानमा भर्चुअल प्राईभेट नेटवर्क (भिपीएन) विना नै नै टिकटकमा सहज पहुँच पाउन सकिन्छ । खासगरी नाम चलेका इन्टरनेट सेवाप्रदायकले केही निश्चित स्थानमा टिकटक चलाउन नसकिने गरी डिएनएस र आइपी एड्रेस ब्लक गरेपनि धेरैजसो सरकारी कार्यालय र सार्वजनिक स्थानमै टिकटकको पहुँचमा सहजै पुग्न सकिन्छ ।

देशकै प्रशासनिक केन्द्र सिंहदरबार पनि यसबाट अछुतो रहन सकेको छैन । खासगरी सरकारले लहडमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेपनि उचित प्राविधिक ज्ञान नै नहुँदा सरकार पनि यसको नियन्त्रणमा पछि परिरहेको दूरसंचार क्षेत्रका जानकारहरु बताउँछन् । खासगरी टिकटकलगायतका एपहरुमा प्रतिबन्ध लगाउनुअघि नै यसले पछि पार्ने प्रभाव, यसको नियन्त्रणमा नेपालले प्रयोग गर्न सक्ने प्राविधिक हतियारलगायतमा ध्यान दिनुपर्ने सूचना तथा संचार विज्ञ आनन्दराज खनाल बताउँछन् ।

उनका अनुसार सरकारले यस्ता सेवामा प्रतिबन्ध लगाईसकेपछि यसको निरन्तरताका लागि आईपर्ने समस्या र चुनौतीलाई ध्यान नदिँदा सरकार यसमा चुकिरहेको छ । खासगरी पछिल्लो समय टिकटक चल्नुमा सरकारले यसलाई खुकुलो गर्दै जानु, टिकटकले नै नेपाली प्रयोगकर्ताको कमजोरीलाई पत्ता लगाई त्यहीअनुसार चल्न सकिने प्रविधि प्रयोग गर्नु, भिपिएन वा ओपन डिएनएसको प्रयोगमार्फत र इन्टरनेट सेवाप्रदायकले नै यसलाई नियन्त्रण गर्न नसक्नु प्रमुख कारण हुनसक्ने उनी बताउँछन् ।

‘नेपालमा टिकटक चलाउन जति ज्ञान टिकटकसँग छ त्यति ज्ञान नेपालमा यसलाई प्रतिवन्ध लगाउन हामीसँग नहुन सक्छ,’ उनले भने, ‘जसका कारण आन्तरिक रुपमा टिकटक चलिरहेको हुनसक्छ ।’ पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल नै केहि सार्वजनिक कार्यक्रममा टिकटकलाई विशेष शर्तमा नेपालमा चलाउन मिल्ने बनाउन सकिने बताउँदै आएका छन् । यसैलाई आधार मानेर केही इन्टरनेट सेवाप्रदायकले यसलाई खुकुलो गरेको हुनसक्ने उनको अनुमान छ ।

सरकारले यसअघि केहि बर्षअघि नेपालमा पोर्नसाइट चल्नै नपाउने गरी पोर्नसाईटहरुका आइपी एड्रेस ब्लक गर्न लगाएको थियो । तर, समय वित्दै जाँदा हाल धेरैजसो आइएसपीको इन्टरनेटमा पोर्नसाइटहरु चलिरहेको यदाकदा सुन्नमा आउँछ । अर्थात सरकारले यसको नियमनलाई पनि नियमन गर्न नसक्दा हाल खुलेआम यसको प्रयोग बढिरहेको जानकारहरु बताउँछन् । सरकारले पनि कुनै निश्चित समयमा वाहवाही कमाउन यस्ता सेवाहरुमा प्रतिबन्धको घोषणा गर्ने र कालान्तरमा त्यसलाई आन्तरिक रुपमै खुकुलोपन गर्दै जाने गरेको यसअघिको घटनाक्रमले देखाउँछ ।

नेपालमा हालसम्मको जाँचमा भने सबैजसो इन्टरनेट सेवाप्रदायकले टिकटकको आइपी एड्रेस ब्लक गरिसकेको इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुली बताउँछन् । उनले बताएजस्तो सबैजसो इन्टरनेट सेवाप्रदायकले एकपटक केहि समयको लागि टिकटकको आइपी एड्रेस ब्लक गरेपनि पछिल्लो समय उनकै इन्टरनेट (सुबिसु) मार्फत पनि टिकटक चलिरहेको पाइएको छ । यस्तै चौधरी ग्रुपको सिजी इन्टरनेटमा पनि हाल धेरैजसो समय टिकटक चल्ने गरेको इन्टरनेट प्रयोगकर्ताहरु बताउँछन् ।

टिकटक प्रतिवन्ध भएयता कुनै स्थानमा टिकटक चलेको भए जानकारी लिन र टिकटक बन्द गराउनका लागि भन्दै नेपाल दूरसंचार प्राधिकरणले एक कमिटि नै गठन गरेको थियो । कमिटिले टिकटक चले–नचलेको पत्ता लगाई चलेको भए तत्काल यसको आइपी एड्रेस ब्लक गर्न निर्देशन दिँदै आएको थियो ।

खासगरी भिपीएन र ओपन डिएनएस प्रयोग गरेर टिकटक चलाउन सकिने भएपनि सबैजसो इन्टरनेट सेवाप्रदायकले भने डिएनएस ब्लक गरिसकेको आइस्पानका अध्यक्ष पराजुली बताउँछन् । उनका अनुसार सबैजसो इन्टरनेट सेवाप्रदायकले टिकटक चलाउन नसकिने गरी यसको डिएनएस ब्लक गरिसकेका छन् । तर, केहि प्रयोगकर्ताले भने ओपन डिएनएस र भिपिएन प्रयोग गरेर चलाईरहेको उनले बताए । ओपन डिएनएस र भिपिएनको प्रयोगमा पूर्ण रुपमा रोक लगाउन नसकिने भएकाले यसमा भने समस्या निम्तिएको उनको भनाई छ । नेपालका आइस्पानहरुले ओपन डिएनएस ब्लक गर्न सक्दैनन् । त्यसमाथि भिपिएन ब्लक गर्न सकिने कुरै भएन । तर, टिकटकको डिएनएस सर्भर भने हालसम्म ब्लक नै रहेको उनले बताए ।

यता संचार मन्त्रालय भने पछिल्लो समय टिकटकमाथिको प्रतिवन्ध खुकुलो भइरहेको स्वीकार्छ । मन्त्रालयका प्रवक्ता नेत्र सुवेदी पछिल्लो समय धेरैजसो स्थानमा टिकटक प्रयोग प्रतिवन्धका बावजुद पनि भईरहेको गुनासो बढेको बताउँछन् । ‘धेरै ठाउँमा टिकटक चलेको गुनासो पछिल्लो समय बढी आईरहेको छ,’ उनले भने, ‘सबै क्षेत्रको तथ्यांक संकलन गरी हामी त्यहअिनुसार कार्यबाही अघि बढाउँछौं ।

नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टिकटक चलाउन नसकिने गरी कार्य गर्नुपर्ने भएपनि स्वयं सरकारी केन्द्रभित्रै टिकटक चल्नुले सरकारको कमजोर नियमन छर्लङ हुन्छ । त्यतिमात्रै होईन साना तथा मझौला र नयाँ इन्टरनेट सेवाप्रदायकले अझै मन्त्रिपरिषद र प्राधिकरणको निर्देशनलाई लत्याएर आफ्नो सिस्टमबाट टिकटक नचल्नेगरी कार्य नगरेको समेत पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL