Logo

टी-२० सिरिजमा नेपालको दोश्रो हार, नेदरल्याण्डससँग नेपाल २ रनले पराजित

टी-२० सिरिजमा नेपालको दोश्रो हार, नेदरल्याण्डससँग नेपाल २ रनले पराजित



काठमाडौँ । टी-२० सिरिजमा नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको छ । नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८२ रन बनाएपछि खेल २ रनले हारेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । कप्तान रोहितले ३६ बलमा ५० रन बनाएर आउट भएका थिए भने २८ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ६३ रन बनाएर आउट भएका थिए । त्यसैगरी आसिफ सेखले ३४ रन बनाए भने कुशल मल्लले ११ र करण केसीले ११ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेदरल्याण्डसका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । लेभिटले यसै खेलमा आफ्नो टी-२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो । जारी सिरिजमा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नामिबियासँग २० रनले हारेको थियो । अब अर्को खेल विहिबार नामिबिया र नेदरल्याण्डससँग हुने छ ।

प्रतिक्रिया दिनुहोस्