Logo

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, ७ महिनामा ७ अर्ब २९ करोड बीमाशुल्क संकलन

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, ७ महिनामा ७ अर्ब २९ करोड बीमाशुल्क संकलन



काठमाडौं । पछिल्लो समय देखिएको आर्थिक सुस्ततामा निर्जीवन बीमा व्यवसायलाई टिकाईराख्ने एकमात्रै साधनको रुपमा मोटर बीमालेख देखिएको छ । निर्जीवन बीमा क्षेत्रमा अनिवार्यजस्तै गरिएको मोटर बीमालेखले नै निर्जीवन बीमा क्षेत्र धानिरहेको नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांकमा देखिन्छ ।

प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ७ महिना अर्थात साउनदेखि माघसम्म मोटरबीमालेख विक्री गरेर मात्रै नेपालका निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब २९ करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । यो यस अवधिमा आर्जन भएको कुल २२ अर्ब ४६ करोड २८ लाख रुपैयाँ कुल बीमालेखको करिव ३० प्रतिशत हुन आउँछ । अर्थात पछिल्लो ७ महिनामा आर्जन गरेको कुल बीमाशुल्कमा ३० प्रतिशत हिस्सा मोटर बीमाको मात्रै देखिन्छ ।

यसै अवधिमा नेपालमा संचालिन निर्जिवन बीमा कम्पनीहरुले सम्पत्ती बीमालेखमार्फत ५ अर्ब ५० करोड रुपैयाँ आर्जन गर्दा ईन्जिनियरिङ तथा ठेक्का जोखिम बीमालेखमार्फत ३ अर्ब २० करोड रुपैयाँ आर्जन गरेका छन् । यस्तै यसै अवधिमा २ अर्ब ६७ करोड रुपैयाँ बीमाशुल्क विविध बीमालेख विक्री गरेर आर्जन गर्दा १ अर्ब ४० करोड रुपैयाँ हवाई बीमालेखमार्फत, १ अर्ब १८ करोड रुपैयाँ सामुन्द्रिक बीमालेखमार्फत र १ अर्ब १० करोड रुपैयाँ कृषि तथा बाली बीमालेख विक्री गरेर आर्जन भएको देखिन्छ ।

यसरी आर्जन भएको बीमाशुल्क सबैभन्दा बढी १४ अर्ब ७३ करोड रुपैयाँ बराबर बागमती प्रदेशबाट मात्रै आर्जन भएको देखिन्छ । यस अवधिमा सबैभन्दा कम बीमाशुल्क भने कर्णाली प्रदेशबाट २२ करोड रुपैयाँ बराबरको मात्रै उठेको देखिन्छ ।
चालु आवको माघ महिनासम्म नेपालमा संचालित निर्जिवन बीमा कम्पनीहरुले १७ लाख २ हजार बढी बीमालेख जारी भएका छन् । जसमध्ये १० लाख ४ हजार बीमालेख मोटर बीमालेखका मात्रै छन् ।

चालु आवको माघ महिनामा नेपालमा संचालित १४ निर्जिवन बीमा कम्पनीहरुले २ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यी कम्पनीले यस अवधिमा २ लाख ५० हजार ३० बीमालेख जारी गरी यस्तो बीमाशुल्क आर्जन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL