Logo

सुन तस्करी जाँचबुझ आयोगको म्याद थपियो, यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद बैठकका अन्य निर्णय

सुन तस्करी जाँचबुझ आयोगको म्याद थपियो, यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद बैठकका अन्य निर्णय



काठमाडौं । सरकारले सुन तस्करीको जाँचबुझ गरिरहेको जाँचबुझ आयोगको म्याद थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फागुन मसान्तसम्म लागू हुनेगरी थप गरिदिएको हो ।

यस्तै सोमबारको मन्त्रिपरिषदको बैठकले सार्वजनिक खरिद (तेह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर ६ बस्ने मृतक जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ ।

यस्तै आजको मन्त्रिपरिषदको बैठकले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने अन्तरराष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ । यस्तै आजको बैठकले २०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्