काठमाडौं । पछिल्लो केही समययता देशको ढुकुटीमा पैसा थुप्रिएर बसेको छ । आयातमा आएको संकुचन र रेमिटान्स आप्रबाहमा भएको उच्च वृद्धिका कारण देशको ढुकुटीमा पैसा थुप्रिन पुग्दा त्यसैलाई आधार बनाएर बाह्य क्षेत्र सुधारमा रहेको घोषणा आर्थिक क्षेत्रका सम्बन्धित निकायले गर्ने गरेका छन । तर, देशको बाह्य क्षेत्र सुध्रिएको हो वा सुन्निएको हो ? भन्ने विषयमा सम्बद्ध सरकारवाला निकायहरुले चासो नदिएको अर्थविज्ञहरु बताउँछन ।
पछिल्लो समय देशबाट निर्यात हुने बस्तु तथा आयात घट्दो अवस्थामा रहेको छ । आयात घट्दा देशमा भएको पैसा विदेशिनबाट बचेको छ । तर, आयातसंगै निर्यात पनि घटेको छ । निर्यात घटनु भनेको देशमा उत्पादन पनि घटनु हो । यसले मुलुकको आन्तरिक अर्थतन्त्रमा दीर्घकालनि समस्या देखिने तर्फ कसैको ध्यान केन्द्रित नभएको विश्लेषकहरु बताउँछन ।
बाह्य क्षेत्र सुधारका लागि गत आर्थिक वर्षमा ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ नामको एक प्रतिवेदनमा नेपाल राष्ट्र बैंकले भनेको छ, ‘आन्तरिक उत्पादन वृद्धि, निर्यात प्रर्वद्धन, विप्रेषण आप्रवाह, वैदेशिक लगानी र वैदेशिक सहयोगको आप्रवाह बढाउन सबैले ध्यान दिनुपर्ने समय आएको छ ।’ उक्त प्रतिवेदनले देखाएको कार्यदिशाअनुसार अहिलेसम्म सरकारी निकायबाट कुनै पनि काम हुन सकेको छैन् । उक्त समय बाह्य अर्थतन्त्रमा समस्या देखिनुको कारण आयात बढनु, निर्यात कम हुन र रेमिट्यान्स घट्नु थियो । जसको कारण सरकारले आवश्यकताबाहेकका सबै बस्तु आयातमा रोकसमेत लगाएको थियो । जसको कारण देशको ढुकुटी बढेको थियोे ।
पुस मसान्तसम्म आउँदा देशको ढुकुटी (विदेशी मुद्रा सञ्चिति) मा १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएर बसेको छ । देशको ढुकुटीमा रहेको पैसाले अहिलेको मूल्यको आधारमा साढे १४ महिनाको बस्तु तथा आयात सेवा धान्न सक्ने अवस्था रहेको छ । तर, यो घट्दो आयातलाई तुलनालाई केन्द्रित बनाई निकालिएको तथ्यांक हो । आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा पनि दबाब बढ्दै जाने एक विज्ञ बताउँछन ।
पछिल्लो केहि महिनायता आएको रेमिट्यान्सको कारण देशको ढुकुटीमा पैसा जम्मा भएको छ । तर, देशको ढुकुटीमा थुप्रिएर बसेको पैसा परिचालन हुन सकेको छैन । आर्थिक वर्ष २०७८–७९ मा देशको ढुकुटीमा समस्या देखिदा सरकारसँग चार महिनाको आयात धान्न सक्ने क्षमता रहेको थियो । तर, अहिले बढेर साढे १४ महिनाको वस्तु तथा आयात धान्न पुग्ने देशको बाह्य अर्थतन्त्रको अवस्था रहेको छ । आर्थिक वर्ष २०७७–७८ को सुरुवातदेखि आर्थिक वर्ष २०७९–८० सम्म दवाबमा रहेको विदेशी मुद्रा सञ्चिति आर्थिक वर्ष २०७९–८० को अन्त्यबाट बढ्न थाल्यो । सरकार तथा नेपाल राष्ट्र बैंकले लिएको कठोर नीतिको कारण आयात कम भयो भने विदेशबाट आउने रेमिट्यान्ससंगै नेपाल भित्रिने पर्यटनको संख्यामा केहि वृद्धि भयो । जसको कारण देशको ढुकुटी बढ्न थालेको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बाह्य क्षेत्र केही हदसम्म सुधारतर्फ रहेको नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन । पछिल्लो समय नेपालमा उत्पादनमूलक क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन । जसको कारण रेमिट्यान्स आउने क्रम बढ्दो छ । तर, यो दीर्घकालीन नहरहने थापाको दावी छ । ‘देशमा अहिले कुनै नयाँ कुनै परियोजनाहरु सञ्चालनमा आएका छैनन्,’ उनी भन्छन, ‘नयाँ काम गर्नको लागि निजी क्षेत्र तथा सरकारसँग कुनैपनि ठूला परियोजनाहरु छैनन् ।’ नयाँ परियोजना बन्द हुँदा आगामी दिनमा निर्यात अझ घट्न सक्ने थापाको बुझाई छ ।
नेपालको कुल शोधनान्तर स्थिति (जसले देशले समष्टिगत भुक्तानी लिने र दिनेबीचको सन्तुलनको स्थितिलाई जनाउँछ) पछिल्लो समय बचतमा छ । चालु आर्थिक वर्षको ६ महिनामा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । आन्तरिक अर्थतन्त्र सुधार नहुँदा र आगामी दिनमा फेरी आयातमा भर पर्नुपर्ने अवस्था अउँदा फेरी चालु खाता घाटामा जाने र शोधनान्तर स्थिति घाटामा जाने भएको कारण यसलाई अर्थतन्त्रका सुधारको रुपमा लिनसके पनि दीर्घकालीन सुधारको रुपमा लिन नसकिने उनको बुझाई छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठ नेपालको बाह्य आर्थिक क्षेत्र पूर्ण सुधार नभएको तर, सुधारको बाटोमा रहेको बताउँछन । बढ्दो रेमिट्यान्स का कारण देशको ढुकुटी बढेको उनी बताउँछन । ‘अर्थतन्त्र पूर्णरुपमा सुधार भएको छैन ।’ उनी भन्छन, ‘सुधारको अवस्थामा रहेको छ ।’
अर्थतन्त्र सुधारका आधारहरु निमार्ण भएको र आगामी दिनमा नेपालको बाह्य तथा आन्तरिक अर्थतन्त्रमा सुधारहरु क्रमशः हुँदै जाने डा.श्रेष्ठको बुझाई छ । ‘सुधारका आधारहरु निर्माण भएका छन् । ब्याजदर घटेको छ र यसले कर्जा प्रभावको लागि आधार भएको छ । अब विस्तारै आर्थिक क्षेत्र चलायमान हुने अवस्था छ । यसले माग बढ्छ भने उत्पादन बढाउन पनि सहयोग पुग्छ,’ श्रेष्ठ भन्छन ।