Logo

चीनसँगको सीमापार व्यापारले अर्थतन्त्रमा गुणात्मक अर्थ राख्छ : प्रधानमन्त्री

चीनसँगको सीमापार व्यापारले अर्थतन्त्रमा गुणात्मक अर्थ राख्छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवर्द्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताएका हुन् । आफूले तेस्रो पटक सरकारको नेतृत्व गरेपश्चात नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको समेत बताए ।

प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी दिएका छन् । ‘चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको छ । यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ ।’

विसं २०५५ मा तातोपानी व्यापार सहयोग सङ्घका नामबाट एउटा सानो कोठामा स्थापना भएको संस्था हाल नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका रुपमा परिणत भई चीनसँग व्यापार गर्ने साथीहरुको छाता सङ्गठनका रुपमा विकसित र विस्तारित भएको हो ।

हाल एक हजार दुईजना सक्रिय सदस्य आबद्ध रहेको यस संस्थामा चीनबाट आयात गर्ने र चीनमा निकासी गर्ने धेरै व्यापारी व्यवसायी क्रियाशील छन् । संस्थाका सम्पर्क युनिट उत्तरी भन्सार नाका तातोपानी र रसुवामा रही सीमापार व्यापार व्यवस्थापनमा खेलेको भूमिका महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ ।

यस संस्थाले चीनसँगको व्यापार उत्तरी नाकाबाट गराउन उत्तरी क्षेत्रमा आएका प्राकृतिक प्रकोप, बाढी पहिरो तथा कोरोना महामारीका समयमा विभिन्न सहयोगात्मक कार्यहरु गरी आयात–निर्यात अविछिन्न रुपमा गर्न सहयोग गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL