Logo

बाँसबारीमा हडपिएको जग्गा फिर्ता प्रक्रिया अघि बढ्यो, मालपोतले पठायो २१ दिने म्याद सहितको पत्र

बाँसबारीमा हडपिएको जग्गा फिर्ता प्रक्रिया अघि बढ्यो, मालपोतले पठायो २१ दिने म्याद सहितको पत्र



काठमाडौँ । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको हिनामिना भएको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै बिहीबार चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ ।

टोखा नगरपालिका–६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो । बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनी जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । सूचनामा २१ दिनभित्र चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई उपस्थित हुन भनिएको छ । सूचनामा २१ दिनभित्र आफैँ वा वारेसमार्फत उपस्थित नभए कानून बमोजिम हुने पनि उल्लेख छ ।

‘उपरोक्त विषयमा ज.ध च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौँ नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० ब.मी. जग्गा श्री नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (अ.अ तथा कारबाही शाखा)को पत्र संख्या ०८०/०८१ च.न. ८४५९ मिति २०८०-१०-२२ को पत्रानुसार उक्त जग्गा नेपाल सरकारका नाममा स्रेस्ता अद्यावधिक गरी ल्याउन २०८०-१०-२४ को आदेश बमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालय समय भित्र उपस्थित हुनु होला अन्यथा कानुन बमोजिम भई जाने ब्यहोरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीजी होल्डिङ्ग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष ठाकुरलाई पक्राउ परेका थिए । उनीहरूलाई सीआईबीले गत बिहीबार पक्राउ गरेको थियो । उनीहरू बुधबार हाजिरी जमानीमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्