Logo

गैरकानूनी सम्पत्ति आर्जनमा पक्राउ परेका सुनिल र विकललाई थप सात दिन थुनामा राख्न अनुमति

गैरकानूनी सम्पत्ति आर्जनमा पक्राउ परेका सुनिल र विकललाई थप सात दिन थुनामा राख्न अनुमति



काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक सात दिन थुनामा राख्ने अनुमति लिएको छ ।

एक साता अघि दोस्रो पटक विशेष अदालतबाट लिइएको सात दिन हिरासतमा राख्ने अनुमतिको म्याद बुधबार सकिएको थियो । त्यसकारण अख्तियारले फेरि एक साताका लागि हिजो म्याद थपेको हो ।

पौडेलद्वयलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको जनाइएको छ । सुनिलमाथि नेसनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोप लागेको छ भने विकलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको आरोप छ । प्रमाण नष्ट गर्न सक्ने र भाग्ने सम्भावना रहेकाले दुवैलाई बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएका छन् । नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना नै उनीहरूले विदेशी बैंकमा खाता खोलेर रकम जम्मा गरेको अख्तियारले बताएको छ ।

‘नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको र विकल पौडेलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति(पीआर)समेत लिएको’ अख्तियारले भनेको छ । दुवैजना अनुन्सन्धानका क्रममा रहेकाले प्रमाण नष्ट गर्न सक्ने र भाग्न सक्ने देखिएकाले पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको अख्तियारले जनाएको छ ।

दुई सचिवसमेत मुछिएको नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनिलसहित ९ जनाविरुद्ध गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । त्यतिबेला पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक थिए । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि अख्तियारले २३ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

यस्तै, गत वैशाखमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकलसहित ९ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विकलसहित ९ जनाविरुद्ध मुद्दा हालेको थियो । अख्तियारले विकलविरुद्ध ६९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी माग गरेको थियो । अख्तियारले यससँग सम्बन्धितहरूसँग बयान लिने काम पनि गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL