Logo

टेलिकमको माइक्रोवेभ रेडियो लिंक ७५ जिल्लामा, अन्य ग्रामीण क्षेत्रमा पनि सेवा विस्तार गरिदै

टेलिकमको माइक्रोवेभ रेडियो लिंक ७५ जिल्लामा, अन्य ग्रामीण क्षेत्रमा पनि सेवा विस्तार गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमको माइक्रोवेभ रेडियो लिंक अव ७५ ओटै जिल्लामा पुगेको छ । एनटिसीले भदौ ४ गतेदेखि हुम्लाको सिमिकोटमा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याएसँगै देशभर सेवा उपलब्ध भएको हो । यस अघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यस अघि मुगु जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याएको थियो ।

विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधि मार्फत सेवा उपलब्ध थियो । सो स्थानमा सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति रहेको थियो ।

उक्त माइक्रोवेभ लिंक स्थापना पश्चात १ सय ७० एमविपिएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडिएसएललगायत सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुने बताईएको छ । साथै भविष्यमा थ्रीजी र वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिने छ । यसबाट विशेषगरी कर्णालीबासी उपभोक्ताहरुले अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले धेरै पहिले देखि नै ७२ वटा जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवाको पहुँच पु¥याईरहेकोमा भौगोलिक विकटता समेतका कारण उल्लेखित तीन जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा उपलब्ध गराउनु एउटा महत्वाकांक्षी योजनाका रुपमा रहेको थियो । ती जिल्लाहरुमा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा उपलब्ध गराउने कार्यलाई सूचना प्रविधिको क्षेत्रमा ऐतिहासिक कोशे ढुंगाको रुपमा हेर्न सकिने बताइएको छ ।

नेपाल टेलिकमका प्राविधिकहरु मार्फत भौगोलिक दृष्टिले निकै कठीन उच्च पहाडी क्षेत्रमा ट्रान्समिसन उपकरणहरु जडान गरी सेवा सञ्चालन गरिएको हो । आगामी दिनमा सम्भब भएका अन्य ग्रामीण क्षेत्रमा समेत माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्