Logo

चामल बेचेर वार्षिक ४ खर्ब आर्जन गर्दै पाकिस्तान, कृषिप्रधान नेपालले भने ६ महिनामै चामल आयात गर्न खर्चियो १० अर्ब बढी

चामल बेचेर वार्षिक ४ खर्ब आर्जन गर्दै पाकिस्तान, कृषिप्रधान नेपालले भने ६ महिनामै चामल आयात गर्न खर्चियो १० अर्ब बढी



काठमाडौं । पाकिस्तानले १६ वर्षयताकै उच्च मूल्यमा चामल निर्यात गरिरहेको छ । यसका बाबजुद पनि यस वर्षको असारसम्म यसको निर्यात रेकर्ड स्तरमा पुग्ने सम्भावना छ । भारतको एक निर्णयले पाकिस्तानी निर्यातकर्ताहरूको भाग्य फेरियो । विश्वको सबैभन्दा ठूलो चामल उत्पादक भारतले गत वर्ष आफ्नो निर्यातमा धेरै प्रतिबन्ध लगाएको थियो । फलस्वरूप आयातकर्ताहरू छिमेकी राष्ट्र पाकिस्तान जान बाध्य भएका छन् । पाकिस्तानी निर्यातकर्ताहरूले चामल बिक्री गरेको मूल्य झण्डै डेढ दशकयताकै उच्च हो । यसका बाबजुद पनि यसको निर्यात निरन्तर बढिरहेको छ, जसले यसको कमजोर आर्थिक अवस्था सुधार्न ठूलो राहत दिन सक्छ ।

पाकिस्तानका चामल निर्यातकर्ताहरूको संगठन राइस एक्सपोर्टर्स एसोसिएसन अफ पाकिस्तान (रिएप) का अध्यक्ष चेलाराम केवलानीले भने, “पछिल्ला महिनाहरूमा चामलको मागमा ठूलो वृद्धि भएको छ, यसको मुख्य कारण भारतबाट निकासी बन्द हुनु हो ।’ विश्वको कुल चामल निर्यातको करिब ४० प्रतिशत भारतबाट हुने गथ्र्यो । तर, गत वर्ष बासमतीबाहेक सबै जातका चामल निर्यातमा भारतले रोक लगाएको थियो भने उसिनेको चामलको निकासीमा पनि भन्सार बढाइएको छ ।

उत्पादन पनि बढ्यो

केवलानी भन्छन् कि पाकिस्तानको कुल निर्यात जूनमा समाप्त हुने आर्थिक वर्ष २०२३–२०२४मा ५० लाख मेट्रिक टन पुग्न सक्छ । गत आर्थिक वर्षमा ३७ लाख टन थियो । गत वर्षको तुलनामा यो वर्ष उत्पादन राम्रो भएकाले निर्यात ५२ लाख टन पुग्न सक्ने पनि कतिपय विज्ञहरू बताउँछन् ।

एक व्यापारीका अनुसार गत वर्ष पाकिस्तानमा ५५ लाख टन चामल उत्पादन भएको थियो तर यो वर्ष यो मात्र ९० देखि ९५ लाख टन पुग्ने छ । ती व्यवसायीले भने–‘उत्पादन बढेपछि र विश्व बजारमा मूल्य बढेकाले पाकिस्तानको निर्यात बढेको छ । डिसेम्बरमा मात्रै सात लाख टन चामल निर्यात भएको छ ।’ पाकिस्तानी बासमती चामलको निर्यात ६० प्रतिशतले बढेर करिब ९.५ लाख टन र गैरबासमती चामलको निर्यात ३६ प्रतिशतले बढेर ४२.५ लाख टन पुग्न सक्ने यस व्यापारीको अनुमान छ ।

अर्बौ डलर आम्दानी

कराचीस्थित इन्स्टिच्युट अफ बिजनेस एडमिनिस्ट्रेशनका सहायक प्राध्यापक आदिस नाखोडा भन्छन्, ‘पाकिस्तानले गत वर्ष २.१ अर्ब डलरको चामल निकासी गरेको थियो भने यो वर्ष चामल निर्यातबाट तीन अर्ब डलर (करीब ४ खर्ब नेपाली रुपैयाँ) आम्दानी हुने अपेक्षा गरिएको छ । सामान्यतया, भारतले आफ्नो गैरबासमती चामल कम मूल्यमा निर्यात गर्दछ । तर, भारत बजार बाहिर गएकाले अहिले आयातकर्ता पाकिस्तानतर्फ सरेका छन् । लाहोरस्थित लतिफ राइस मिल्सका बिक्री तथा मार्केटिङ विभागका प्रमुख हम्माद अतीक भन्छन् कि उत्पादन बढी भए पनि त्यहाँ चामलको मूल्य बढिरहेको छ ।

यस वर्ष पाकिस्तानले ५ प्रतिशत टुक्रा चामल प्रति टन ६ सय ४० डलरमा बिक्री गरिरहेको छ भने उसिना चामलको मूल्य प्रतिटन ६ सय ८० डलर रहेको छ । गत वर्ष यो क्रमशः ४६५ र ४८६ डलर प्रतिटन थियो । गैरबासमती चामल पाकिस्तानबाट मुख्यतया इन्डोनेसिया , सेनेगल, माली, आइभरी कोस्ट र केन्यामा निर्यात हुने गरेको छ । यसको बासमती आयातकर्ताहरूमा युरोपेली संघ, कतार र साउदी अरेबिया पर्छन् ।

अर्को वर्षको लागि पनि आशा

भारतको निर्यात प्रतिबन्धपछि बजारमा सिर्जना भएको शून्यतालाई भियतनाम, थाइल्याण्ड र पाकिस्तानले भर्ने प्रयास गरिरहेका छन् । भएपनि पाकिस्तान मध्यपूर्व, युरोप र अफ्रिकाको नजिक छ, त्यसैले सामानको ढुवानी सस्तो छ । एक डिलरले भने, ‘भारतले मेमा चुनाव पछि आफ्नो निर्यात प्रतिबन्धको निर्णयलाई समीक्षा गर्न सक्छ । तर, पाकिस्तानले आफ्नो कुल वार्षिक निर्यातको करिब दुई तिहाई बेचिसकेको छ र सम्भव छ कि मेको अन्त्यसम्ममा उसले आफ्नो सम्पूर्ण चामल बेचिसक्छ ।’ पाकिस्तानी किसानहरूले आफ्नो धानको कीर्तिमानी मूल्य पाएकाले अर्को वर्ष रोपाइ बढाउन सक्ने केवलानी बताउँछन् । उनले भने, ‘मौसमले सहयोग गरे अर्को सिजनमा पनि पाकिस्तानमा चामल बढी हुनेछ ।’

नेपाल भने आयातमा निर्भर

यता कृषिप्रधान देशका रुपमा रहेको नेपाल भने मुख्य खाधान्नका रुपमा रहेको चामलमा पनि आयातमै निर्भर रहेको छ । गत आर्थिक बर्ष २०७९/८० भर नेपालले विभिन्न देशबाट ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ८० करोड किलो धान, चामल र कनिका आयात गरेको छ । यस्तै चालु आवको पछिल्लो ६ महिनामा नेपालले १० अर्ब १४ करोड रुपैयाँ बराबरको १८ करोड ७७ लाख किलो धान, चामल र कनिका आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL