Logo

सहकारी ठगी प्रकरणमा जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी, १६ अर्ब भन्दा बढी ठगीको आरोप

सहकारी ठगी प्रकरणमा जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी, १६ अर्ब भन्दा बढी ठगीको आरोप



काठमाडौं। सहकारी ठगी प्रकरणमा जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका राईविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको हो।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासहित दर्जनौ संघ संस्था खडा गरेर फरार रहेको भन्दै विश्वभर खोजतलासका लागि सहजीकरण गर्न शुक्रबार साँझ अध्यक्ष राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ गते राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पत्रचार गरेपछि इन्टरपोलमार्फत सो नोटिस जारी भएको हो।

कास्की प्रहरीको उक्त पत्रपश्चात इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) ले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो। प्रहरी प्रधानकार्यालयको आधारमा डिफ्युजन नोटिस जारी भएको इन्टरपोल शाखाले जनाएको छ।

राई समूहले पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगञ्जमा समनता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकराी संस्था, वीरगञ्जमा सोना पाइला बचत तथा ऋण सहकारी संस्था चलाएको थियो। काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देशीय सहकारी संस्था लगायत पनि राई समूहबाटै सञ्चालन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL