Logo

राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन, कति छन् मतदाता ?

राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन, कति छन् मतदाता ?



काठमाडौं । माघ ११ गते राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन हुदै छ । सम्वन्धित प्रदेशका तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरुमा विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म हुने मतदान हुने आयोगले जनाएको छ । साथै आयोगले यस निर्वाचनमा ३८ प्रकारका कूल ६९१० मतपत्रहरु छपाई गरेको जनाएको छ ।

निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन पुस २३ गते ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

कुन प्रदेशमा कति छन् मतदाता ?

निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेशसभाका मतदाता पाँच सय ४९ रहेका छन् भने स्थानीय तहका एक हजार चार सय ९८ रहेका छन् । जसमा प्रदेशसभामा प्रतिमतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रतिमतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार चार सय ६२ रहेको छ । दुवैतर्फ गरेर दुई हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार पाँच सय ५९ रहेको छ ।

प्रदेशगत हिसाबले कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ९३ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुखतर्फ दुई सय ७४ जना गरी तीन सय ६७ जना मतदाता रहेको छ । कोशी प्रदेशसभा सदस्यको मतभार चार हजार नौ सय २९ रहेको छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख गरी पाँच हजार दुई सय ६ मतभार छ । कोशी प्रदेशमा कूल १० हजार एक सय ३५ मतभार कायम हुने उल्लेख गरिएको छ ।

त्यस्तै मधेस प्रदेशमा प्रदेशसभा सदस्यको एक सय सात, पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख दुई सय ६७ गरी जम्मा तीन सय ७४ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार पाँच हजार ६ सय ७१ र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको पाँच हजार ७३ गरी जम्मा १० हजार सात सय ४४ मतभार कायम हुनेछ ।

बागमती प्रदेशमा प्रदेशसभा सदस्यतर्फ एक सय १० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या दुई सय ३७ गरी जम्मा तीन सय ४७ जना मतदाता कायम भएका छन् । बागमतीमा प्रदेशसभा सदस्यको मतभार पाँच हजार आठ सय ३० र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार पाँच सय तीन गरी जम्मा १० हजार तीन सय ३३ मतभार कायम हुनेछ ।

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ६० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फका मतदाता एक सय ७० गरी जम्मा दुई सय ३० जना मतदाता कायम भएका छन् । गण्डकीमा प्रदेशसभा सदस्यको मतभार तीन हजार एक सय ८० र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार तीन हजार दुई सय ३० गरी जम्मा ६ हजार चार सय १० मतभार कायम हुनेछ ।

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या दुई सय १८ गरी जम्मा तीन सय पाँचजना मतदाता कायम भएका छन् । लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार चार हजार ६ सय ११ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार एक सय ४२ गरी जम्मा आठ हजार सात सय ५३ मतभार कायम हुने आयोगले जनाएको छ ।

कर्णालीमा प्रदेशसभा सदस्यको सङ्ख्या ४० छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक सय ५६ जना छन् । प्रदेशसभाको मतभार दुई हजार एक सय २० र पालिकाको दुई हजार नौ सय ६४ गरी कर्णालीमा जम्मा मतभार पाँच हजार ८४ हुनेछ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या एक सय ७६ गरी जम्मा दुई सय २८ जना मतदाता कायम छन् । जसअनुसार प्रदेशसभा सदस्यको दुई हजार सात सय ५६ र पालिकाका तीन हजार तीन सय ४४ गरी जम्मा ६ हजार एक सय मतभार कायम रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्