काठमाडौं । २०७८ को चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले धुमधामका साथ काठमाडौंभित्रैको चोभार सुक्खा बन्दरगाह उद्घाटन गरे । बन्दरगाहको उद्घाटनसँगै व्यवसायी खुसी थिए र वीरगंज, भैरहवालगायतका नाकामा भन्सार जाँचपासका लागि व्यहोर्नुपर्ने दुःख र घण्टौं लाईनमा लाग्नुपर्ने समस्याबाट मुक्त हुन पाइने आशामा थिए । तर, चोभार सुक्खा बन्दरगाहबाट भएको आयात निर्यात व्यापारको तथ्यांकले त्यस्तो देखाउँदैन ।
चालु आर्थिक वर्षको पहिलो ५ महिनाको तथ्यांकअनुसार चोभार सुक्खा बन्दरगाहबाट सोचेजति व्यापार भने भएको देखिँदैन । भन्सार विभागको तथ्यांक अनुसार यो भन्सारबाट पछिल्लो ६ महिनामा ५० करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात शुन्य छ । उत्तर र दक्षिण नाका हुँदै काठमाडौं आउने कन्टेनरहरु सोझै चोभार सुक्खा बन्दरगाहमै जाँचपास र गर्ने कुरा गरिएपनि काठमाडौं आउने धेरैजसो कन्टेनरहरु सीमा नाकाका भन्सार कार्यालयबाट जाँचपास भएर आउने गरेका छन् ।
हाल काठमाडौंको चोभार सुक्खा बन्दरगाह धेरै आयात गर्ने नाकाको २१ औं स्थानमा छ । यो नाका संचालनमा आएको बर्ष ४ महिनामा यो नाकाबाट ९ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आर्थिक बर्षभरी यो नाकाबाट ६४ करोड २३ लाख ५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । उक्त बर्ष यो नाकाबाट १ करोड ४४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात पनि भएको थियो । तर, चालु आवको हालसम्म यो नाकाबाट निर्यातको व्यापार नभएपनि आयातको व्यापार भने झण्डै १ अर्ब बराबरको पुग्ने अनुमान गरिएको छ ।
निश्चित पूर्वाधारको निर्माण र जनशक्तिका बावजुद पनि यो नाका अधिकतम प्रयोग भइरहेको भएपनि व्यापारीहरुले आफुलाई पायक पर्ने नाका चयन गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेल बताउँछन् । काठमाडौंका व्यापारीलाई पनि सीमानाकाबाट ल्याइएका कन्टेनर कलंकी हुँदै चोभार पुर्याएर पुनः काठमाडौं ल्याउन अप्ठ्यारो मानेको उनी आफै बताउँछन् । तर, यो बन्दरगाह बन्दै गरेको काठमाडौं–तराई फास्ट ट्र्याकलाई लक्षित गरी बनाईएकाले यसलाई पुर्ण रुपमा संचालनमा आउन अझै केहि समय लाग्ने उनी बताउँछन् ।
हाल फास्ट ट्र्याक निर्माणकै चरणमा छ । फास्ट ट्र्याकलाई नै लक्षित गरि यो बन्दरगाह निर्माण गरिएकाले हाल जति हुनुपर्ने थियो त्यति व्यापार यो नाकाबाट भइरहेको उनी बताउँछन् । ‘गोदाम प्रयोगमा आएको छ, दैनिक केहि न केहि कन्टेनर पनि जाँचपास भईरहेकै छन्,’ उनले भने, ‘फास्ट ट्र्याक निर्माण भइसकेपछि यसले झन धेरै व्यापार पाउनेछ ।’ तर, नेपालमा सामान भित्रिने र बाहिरिने अन्य भन्सार नाकाको चापलाई मध्यनजर गर्दै चाप कम गर्न निर्माण गरिएको उक्त बन्दरगाहको उपयोगिता हाल खासै नभएको आयात निर्यातको तथ्यांकले देखाउँछ ।
भारत तथा तेस्रो मुलुकबाट आएका कन्टेनर वीरगंज, भैरहवा, विराटनगर लगायतका भन्सारबाट जाँचपास हुने गरेका थिए । यसरी दैनिक भित्रिने कन्टेनर र सिमानाकाका भन्सार कार्यालयमा हुने चापका कारण कन्टेनर जाँचपास हुन समय लाग्ने गरेको छ । यिनै समस्याको समाधानका लागि सबैभन्दा बढी कन्टेनर आउने काठमाडौंमै बन्दरगाहको निर्माणमा सरकारले जोड दिएपनि व्यवसायीहरु भने यसमा आकर्षित हुन नसकेको तथ्यांकले देखाएको छ । चोभार सुक्खा बन्दरगाहसँगैका अन्य बन्दरगाहबाट भने औषतमा अर्बौं बढीको वैदेशिक व्यापार हुने गरेको छ ।
२ सय २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बन्दरगाहामा कोरोना कहरकै बीच पनि काम निरन्तर हुँदा २०७८ को असोजमै निर्माण सम्पन्न भएको थियो ।
२०७५ सालको जेठ महिनामै ठेक्का लागेर काम अघि बढेको उक्त बन्दरगाहको शिलान्यास भने ८ महिनापछि अर्थात सोही बर्षको माघमा मात्रै गरिएको थियो । त्यसअघि साउन ३० गते शिलान्यास गर्ने तयारी गरिएपनि स्थानीयको अवरोधका कारण शिलान्यास कार्यक्रम स्थगित गरिएको थियो ।
यो बन्दरगाहा तातोपानीको बन्दरगाहजत्तिकै क्षमताको हो । यसमा ५ सयओटा कन्टेनर र ५ सय ट्रक पार्किङ गर्न सकिने गरी पार्किङ यार्ड, वेयर हाउस, भन्सार, बैंक तथा वित्तीय संस्थाका लागि र प्रशासनका लागि आवश्यक भवन, कन्टेनरसहितका ट्रकहरु भित्रिने र बाहिरिने ३ ओटा मुख्य द्वारलगायतको निर्माण गरिएको छ ।
सुक्खा बन्दरगाहको लागत अनुमान २ अर्ब १८ करोड ७२ लाख रुपैयाँ गरिएपनि १ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । बन्दरगाह निर्माणका लागि विश्व बैंकले २ अर्ब ५० करोड ५२ लाख रुपैयाँ बराबरको ऋण सहयोग गरेको थियो । यसरी वैदेशिक सहायता लिएर बनाएको बन्दरगाहको हाल खासै बढी उपयोगिता नदेखिएको केहि आयातकर्ता बताउँछन् । ‘हामीलाई चोभार सुक्खा बन्दरगाहको सट्टा नाकाका भन्सार कार्यालयहरु नै सजिलो लाग्छन्,’ एक आयातकर्ताले भने, ‘अनेक चरण पार गरेर काठमाडौं ल्याईपुर्याइएका कन्टेनर पुनः चोभार लैजान गाह्रो हुन्छ त्यो भन्दै जति समय लागेपनि नाकाका भन्सार कार्यालयमै जाँचपास गरेर ल्याउन पाइए सजिलो ।’ एक व्यवसायीले भने ।